झापा । आज वैशाख १ गते, अर्थात वर्ष २०८१ सुभारम्भको दिन । देअह तथा बिदेशमा रहेका नेपाली नागरिकले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछन्। आजको दिन बिहानै स्नान गर्ने, घर, कोठा–आगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
नेपाल लगायतका विक्रम संवत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी संवत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ। सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ।
यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ। यस दिन सार्वजनिक बिदा पनि हुन्छ। विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ।
त्यस्तै आजको दिन पुर्वक चर्चित पर्यटकीय स्थाल चेप्टी फण्डपार्क, सेल्फीडाँडा, कन्याम,अन्तु, दमक फण्डपार्क, तालतलैया लगायतका पर्यटकीय स्थल तथा धार्मिक मठ मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको थियो । नयाँ वर्षकै अवसरमा आन्तरिक तथा बाह्यय पर्यटक भित्र्याउन इलामका विभिन्न ठाँउ मेला-महोत्सवको आयोजना गरिएको छ ।
काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने वाग्द्वार अर्थात् बागमती नदीको उद्गमस्थल,टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा आज विशेष मेला लाग्छ । काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठरोग निको हुने जनविश्वास रहिआएको छ ।






















































