काँकरभिट्टा । पटके गुणस्तर परीक्षण भन्दै भारतले नयाँ नियम लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ ।
पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्कीमा रोकेको हो । १७ ट्रक तयारी चिया आज भारतले रोकेपछि नेपालका चिया उद्यमीहरूले गम्भीर सङ्कट निम्तिने बताएका छन् ।
चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरू पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए । भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग आजै भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताए ।
मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईँले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिए ।
चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो ।
यसबारे केहिदिन अघि सहकारी ज्ञाता रामचन्द्र उप्रेतीले सभामुख बेदराज घिमिरेलाई चियाको गुणस्तर चेकजाँचको नाउँमा भारतले अपनाएको बिधीले चिया उधमी चिन्तित भएको भन्दै तत्काल सामाधान गर्न ध्यानाकर्षण गराएका थिए ।























































