मेचीनगर । भारतको पश्चिम बंगालको दार्जिलिङ जिल्लामा हुने १८ औँ लोकसभा चुनावका लागि नेपाल-भारत सीमा मंगलबार साँझदेखि बन्द हुने भएको छ ।
झापासँग जोडिने सीमा क्षेत्र काँकरभिट्टा र भद्रपुर नाका शनिबारसम्मका लागि आगमन बन्द हुने जनाइएको छ ।
भारतको पश्चिम बंगालको दार्जिलिङ जिल्लामा अप्रिल २६ तारिक हुने १८ औँ लोकसभाको चुनावका लागि नाका बन्द हुने भएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाले मंगलबार बेलुका ६ बजेदेखि १५ गते शनिबार विहान ६ वजेसम्म नाका पूर्णरूपमा बन्द हुने जानकारी दिए ।
खुल्ला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले चुनावका लागि आज अप्रिल २३ देखि २७ तारिखसम्म सीमा नाका बन्द हुने उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले सीमा सील गरिएको अवधिमा अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने बताए ।
उनका अनुसार दार्जिलिङ जिल्लामा चुनाव हुने भएपछि झापाको भद्रपुरदेखि इलामको सिमाना सलकपुरसम्म र इलाम जिल्लामा पनि बोडर सील हुने छ ।























































