झापा । झापामा हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने अभियान आज शुक्रबारदेखि सुरु भएको छ । स्वास्थ्य कार्यालय झापाले जिल्ला बिकास समितिको हलमा आयोजित पत्रकारसँगको अन्तरक्रियापछि हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने अभियानको शुभारम्भ गरेको हो ।
कोशी प्रदेश सांसद छविलाल चुडाँलले हात्ती पाइले विरुद्धको औंषधि खाएपछि बैशाख १६ गतेबाट जिल्लाभर सञ्चालन गर्ने अभियान औपचारिक रुपमा सुरु भएको हो । अभियानको शुभारम्भमा झापा जिल्लाका प्रशासन र सुरक्षा प्रमुखहरुले पनि औषधि खाएका थिए ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, उपप्रमुख शान्ता रोक्का, प्रहरी उपरीक्षक मिलन केसी लगायतले सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरूले हात्ती पाइले विरुद्धको ९ चक्की औषधि खाएर हुन् ।
स्वास्थ्य मन्त्रालयले हात्ती पाइले रोग निर्मुल पार्न झापासहित सात जिल्लामा आगामी बैशाख १६ गतेदेखि १४ दिने आम औषधि खुवाउने राष्ट्रिय अभियान सुरु गरेको हो । औषधि खुवाउने कार्यक्रमको शुभारम्भ गरेपनि बैशाख १६ गते जिल्लाका १५ वटा पालिकाका १ सय ३१ वटा वडामा एकै पटक अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।
अधिकांशले औषधि सेवन नगरेका कारण झापामा सन् २०१२ देखि शुरु हात्तीपाइलेको औषधि झापामा यो पटक अन्तिम अभियानको रुपमा खुवाउन सफल हुने प्रमुख रमेश बाराकोटीको भनाई छ । उनका अनुसार गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक साढे ९ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।
यस पटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाईसहित अन्य केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेको अवस्था छ । औषधि खाएका व्यक्तिले कार्ड लिनुपर्ने हुन्छ । कार्ड लिएर पालिकाहरूमा गए मात्र सेवा सुविधा पाउने नियम बनाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हात्तीपाइले (फाईलेरिया) रोग मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्गता गराउने सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीको सङ्क्रमणले गर्दा हुन्छ । यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सार्दछ। यस रोगका लक्षण तथा चिन्हहरू प्राय लामो समयपछि मात्र देखा पर्दछ । मानिसको शरीरमा यस रोगको परजीवी प्रवेश गरेको ८ देखि १६ महिनामा मात्र यस रोगको लक्षण देखिन्छ ।
सुरुको अवस्थामा ज्वरो आउने, जाडो हुने, शरीरमा कम्पन आउने, लिम्फ नलीहरू सुन्निने, रातो हुने, हात गोडामा नीला काला धर्साहरू देखिने, शरीरमा भएका गिर्खाहरूको आकार बढ्ने, दुख्ने, पुरुषको अण्डकोष वरपरका नसाहरू सुन्निने, दुख्ने, अण्डकोष सुन्निने, महिलाको स्तन र योनाङ्ग सुन्निने समस्याहरू पूर्ण रुपमा स्थायी प्रकृतिको हुन्छ । सुरुका अवस्थामा औषधि उपचार गरेमा यो रोग पूर्ण रुपमा निको हुने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।






















































