झापा । झापामा लागुऔषध कारोबारी र प्रहरीबीच दोहोरो भिडन्त भएको छ। भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन्। लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा कारोबारी र प्रहरीबीच घम्साघुम्सी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दका अनुसार घाइते हुनेमा करिब ३२ वर्षका अब्दुक सरिक मियाँ रहेका छन्। उनकाे खुट्टामा गाेली लागेकाे बताइएकाे छ ।

झापा गाउँपालिका वडा नम्बर ६ स्थित नेपाल–भारत सीमानजिकै लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको हो। पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको थियो । 

प्रहरीमाथि आक्रमण भएपछि एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको ब्युरोका एसएसपी गोविन्द थपलियाले बताए। 

पक्राउ परेका कारोबारीबाट एक सय ३० ग्राम खैरो हेरोइन र एक थान खुकुरीसमेत बरामद भएको प्रहरीले जनाएकाे छ।