बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले आफ्नो १४ औं जिल्ला अधिवेशनमा संचारकर्मीहरुलाई सम्मान एबम् पुरस्कृत गरेको छ । झापाको विर्तामोडस्थित अतिथी सदनको सभाहलमा आयोजित कार्यक्रमको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विभिन्न शीर्षकमा अब्बल पत्रकारहरुलाई सम्मान एबम् पुरस्कृत गरेको हो ।

शाखाले मोतिराम पत्रकारिता पुरस्कार यस वर्ष दुई जना पत्रकारहरुलाई संयुक्त रुपमा प्रदान गरेको छ । एक लाख १ हजार एक सय ११ रुपैयाँसहितको उक्त पुरस्कार दुईजना पूर्व अध्यक्षहरु केशव आचार्य र कृष्ण हुँमागाईलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

त्यस्तै केटो पत्रकारिता पुरस्कार पूर्बाञ्चल डटकम अनलाइन संयोजक नरेन्द्र ढकाललाई नगद २५ हजार पाँच सय ५५ रुपैयाँ र सम्मान पत्र प्रदान गरियो । यसैवर्षदेखि नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा प्रदान गरिने गरी स्थापना भएको हेम सरिता फाउण्डेशन टेक्सास अमेरिकाले संयोजन गरेको ‘टंक प्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ भद्रपुर निवासी पत्रकार राजवावु शंकरलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित प्रदान गरएको थियो ।

त्यसैगरी अधिवेशनमा २५ हजार राशीसहितको लैङ्गिक  समानता पत्रकारिता पुरस्कार २०७९ लीला अनमोललाई र २०८० को पुरस्कार रेजिना गौतमलाई प्रदान गरिएको थियो । 

त्यसैगरी यसै बर्षबाट महासंघ झापाले स्थापना गरेको समावेशी सक्रिय पत्रकारिता पुरस्कार नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ । पत्रकार महासंघ झापाले यसैबर्षदेखि सञ्चार क्षेत्रका बिबिध बिद्यालाई समेटेर समाज रुपान्तरणमा योगदान दिने पत्रकारहरुलाई जनही ११ हजार नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

बिबिध बिद्या अन्तरगत अनलाइन पत्रकारिता पुरस्कार शब्दपत्र डटकमका सम्पादक उद्धव पुरीलाई प्रदान गरिएको छ । त्यस्तै छापा पत्रकारिता पुरस्कार मेची साप्ताहिकका सम्पादक झुलन रेग्मीलाई प्रदान गरियो । त्यस्तै टेलिभिजन पत्रकारिता पुरस्कर हिमशिखरका सुदिप अधिकारीलाई र रेडियो पत्रकारिता पुरस्कार रेडियो भिजनका पुष्प बराललाई प्रदान गरियो ।

सोही अवसरमा उदीयमान पत्रकारिता पुरस्कार आँगन एफएमका चन्द्र बस्नेत र प्रकाश पौडेललाई प्रदान गरियो । उक्त पुरस्कारको राशी जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।त्यसै गरी कार्टुन पत्रकारीता बाट पवन राजवंशीलाई सम्मान गरिएको थियो । 

त्यसैगरी अधिवेशनकै अवसरमा ११ जना अग्रज पत्रकारहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । सम्मानीत हुने हरुमा नकुलकाजी, गोबिन्दचन्द्र छेत्री, गञ्जबहादुर दाहाल, सिरो सान्दाई, लीला बराल, लेखनाथ पदरेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य र लक्ष्मण ढकाल छन् ।

कार्यक्रममा मेची महाकाली पहिलो साइकल यात्री मुक्ति पौडेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभामूख देवराज घिमिरे, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा,  नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारी,  लगायतले सम्मान एवम् पुरस्कार वितरण गरेका थिए । पत्रकार महासंघका सस्थापक महासचिव चन्द्र भण्डारीले सम्मानित व्यक्तिहरुको नाम घोषणा गरेका थिए । सोही अवसरमा शाखाको चौथौ अंक वुलेटीन समेत विमोचन गरिएको थियो ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । पत्रकार महासंघको वन्दसत्र भने कोरम नपुगेका कारण स्थगित भएको छ ।