काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले २८ औं बार्षिक साधारणसभाको अवसर पारेर संस्थालाई  योगदान पुर्याउने दुई दम्पतिसहित कर्मचारीलाई सम्मान गरेको छ ।
कार्यक्रममा संविधान सभा सदस्य रविन काेइराला, मेचीनगर नगरपालिकका पूर्व मेयर विमल आचार्य र वर्ष उत्कृष्ट कर्मचारीका रूपमा सुस्मिता भट्टराईलाई सम्मान गरेको हो ।  कर्मचारी भट्टराईलाई नगद ७ हजार रूपैयाँसहित सम्मान गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि सांसद विश्वप्रकाश शर्माले सम्मान गरेका थिए ।  प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भोटिङ मेसिन प्रयोगमा ल्याउन सुझाव दिएका थिए । शर्माले भोटिङ मेसिन प्रयोग गर्दा आम उपभोक्ताको सल्लाह र सहमतिमा गरिनु उचित हुने बताए ।
संविधानसभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले तत्कालै भोटिङ मेसिन प्रयोग नगर्न सुझाव दिएका थिए । कसरी काम गर्छ भनेर सिक्ने र आउँदा वर्षमा विश्वासका साथ मेसिनबाटै निर्वाचन गर्न सकिने बताए ।
राजकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्ष्मण रिमालले संस्थाको साधारणसभामा मेसिनको प्रयोगले पुर्याउने फाइदा र यसको निष्पक्षताका बारेमा महत्त्वपूर्ण जानकारी दिएका थिए । काँकरभिट्टा खानेपानीमा ७६४९ धारा जडान भएको छन् ।