गौरीगञ्ज । झापाको गौरीगञ्ज अस्पतालमा उपचारपछि रेफर गरेका बालकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका रामदेव महतोका ११ वर्षीय छोरा महेशकुमार महतोको झाडापखालाका कारण मृत्यु भएको थियो । अस्पताल तोडफोड भएपछि अनिश्चित समयका लागि सेवा बन्द गरिएको छ । असामान्य अवस्थाका कारण अस्पताल बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अर्को सूचना नभएसम्मका लागि यस अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू हाललाई बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण महतोले सूचना जारी गरी जनाएका छन् 

अस्पतालमा प्रयोग रहेको सर्वर तथा अन्य विभिन्न भौतिक संरचनाहरूमा क्षति पुग्न गई अस्पतालका सम्पूर्ण सेवाहरू प्रवाह गर्न नसकिने अवस्था पैदा भएकाले । तोडफोडबाट अस्पतालमा लाखौँको क्षति भएको जनाइएको छ ।

झाडापखाला लागेका एक बालकको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले हिजो गौरीगञ्ज अस्पताल तोडफोड गरेका थिए । 

महतोलाई झाडापखाला लागेपछि बिहीबार बिहान ८ बजे गौरीगञ्ज अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार हुन नसक्ने भन्दै चिकित्सकले रेफर गरेर दमक ल्याउँदै गर्दा बाटोमै बालकको मृत्यु भएको मृतकका आफन्त राजकुमार महतोले बताए । बिरामीको मृत्यु भएपछि आफन्तले शवलाई अस्पतालमै लगेर राखेका थिए ।

समयमा दमक नपठाएको र राम्रो उपचार नगरेको भन्दै आक्रोशित आफन्त तथा स्थानीयले गौरीगञ्ज अस्पतालमा तोडफोड गरेका हुन् । मृतक परिवार, आफन्त र स्थानीयहरूले अस्पतालमा दिनभर विरोध प्रदर्शन गर्नुका ढुंगामुडा गरेका थिए । अस्पतालको झ्यालको सिसा, ढोका तथा अस्पतालले प्रयोग गर्ने सर्वर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

दिनभरिको तनावपछि बिहीबार साँझ गौरीगञ्ज अस्पताल व्यवस्थापन समिति र पीडित पक्षबीच सहमति भएको छ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको रोहवरमा गौरीगञ्ज अस्पताल व्यवस्थापन समिति र पीडित परिवारबीच सहमति भएपछि मृतकको शवलाई पोस्टमार्टमका लागि लगिएको छ । डाक्टर र कर्मचारीको लापरबाहीका कारण बालकको मृत्यु भएको ठहर गर्दै अस्पतालका डा. अरविनकुमार राजवंशी, स्टाफ नर्स मनीषा सिंह गनगाई र एचए भावना कार्कीलाई तत्काल पदबाट निलम्बनसहित कानुनी कारबाही गर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको हो । क्षतिपूर्तिको रकम खुलाइएको छैन ।

आर्थिक वर्ष २०७९/८० को साउन १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्रले १५ शय्याको गौरीगञ्ज अस्पतालको रूपमा स्वीकृति पाएको थियो ।