झापा । विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु भएको छ । 

नेपाल सरकारको स्वास्थ्य कार्यालय र झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सम्झौतापछि उक्त सेवा सुरु गरिएको हो ।

नेपाल सरकारबाट सञ्चालित उक्त कार्यक्रम बीएण्डसी अस्पतालले शुक्रवारदेखि सुचारु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश  गिरीले जानकारी दिए।

चिकित्सकहरूले विपन्न नागरिक औषधि कोष अन्तरगतका सेवाका बारेमा जानकारी दिएका थिए । 

उक्त कार्यक्रम अन्तरगत नेपाली नागरिकले मात्र सेवा पाउने व्यवस्था रहेको छ । सेवा पाउनका लागि डाक्टरले बिरामीको सूचीकृत गरेर रोग बारेको प्रमाणपत्र जारी गरेपछि आफ्नो स्थानीय तहको स्वास्थ्य शाखा अन्तरगतको प्रमुख प्रकाशकीय अधिकृत, स्थानीय तह प्रमुख, स्वास्थ्य शाखा प्रमुखको एक समिति हुने र सो समितिको सिफारिस आवश्यक पर्नेछ ।

स्थानीय तहको समितिले सिफारिस गरेर अस्पताललाई पठाएपछि त्यसको आधारमा अस्पतालले सेवा दिने अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटना सम्बन्धी भने उपचार भइसकेको हुने र पछि डकुमेन्ट ल्याउन सकिने पनि व्यवस्था छ ।  

कोही पनि विपन्न नागरिक उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गरिएको हो । बीएण्डसीमा एक लाख रुपैयाँसम्मको हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उक्त कार्यक्रम अन्तरगत एक लाख रुपैयाँसम्मको सेवा अस्पतालबाट लिन पाइनेछ । 

विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत एक लाख भन्दा कम उपचार खर्च भए त्यो रहने र बढी भए त्यसलाई बिरामीले बेहोर्नु पर्ने गिरीले बताएका छन् ।