मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको गौरव बिकास कार्यक्रमको रूपमा रहेको दुईवटा सडक कालोपत्र हुने भएको छ । पछिल्लो समय भौतिक पुर्वाधार विकासमा रूपमा अगाडि बढिरहेको मेचीनगरले सुर्योदय मार्ग (हालको सहिद विश्वनाथ मार्ग) काँकरभिट्टा र सहिद मार्ग धुलाबारी (हालको सहिद विरेन मार्ग) ड्रेनसहित सुविधा सम्पन्न कालोपत्र बनाउने भएको हो । 

नगरपालिकाले सभाहलमा पत्रकार सम्मेलनमार्फत दुई आयोजनाको निर्माण कम्पनीसंग हस्ताक्षर गरेको छ । सम्झौता अनुसार अब निर्माण कम्पनीले सहिद विरेन र विश्वनाथ मार्ग आगामी २०२४ जुलाई १५ तारिखसम्ममा सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ । 

विश्वबैंकको लगानीमा बन्ने सुर्योदय (सहिद विश्वनाथ) मार्ग कन्काई इन्टरनेशनल विल्डर्स कन्काई झापाले ३० करोड ८७ लाखको लागतमा ठेक्का पारेर निर्माण गर्न आज सम्झौता गरेको छ । यस सडकले काँकरभिट्टाको बर्मेली ट‍ोलदेखि बाहुण्डाँगीसम्मको ८.३८० किलोमिटर सडक समेटिने छ । 

त्यस्तै सहिद (सहिद विरेन ) मार्ग एनएनटी डेभ्लोपर पटना भारतले २७ करोड २१ लाखमा ठेक्का पारेको छ । धुलाबारी बजारसिरान हुँदै थोप्लेविराम सडकखण्ड ५.४७० किलोमिटर कालोपत्रे हुने  नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको विकाससंगै थुप्रै कोणबाट महत्त्वको रूपमा लिइएको सहिद विरेन र सहिद विश्वनाथ मार्ग निर्माण सम्पन्न गरेर सञ्चालन गर्न आफुहरू सक्रिय रहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् । उनले यी दुई सडकले पुर्णता पाउँदा नगरबासीलाई सहज हुनुका साथै स्थानीय उत्पादन बजारीकरण गर्न छिमेकी पालिकाहरू उत्तरमा इलामको रोङ तथा दक्षिणमा झापाकै भद्रपुरसंग सहज हुने छ । उनले नगरको गौरवको रूपमा रहेको यी सडक सहजरूपमा निर्माण सम्पन्न गर्न  नगरपालिकासंगै स्थानीय नागरिकको साथ आवश्यक रहेको  बताए । 

सम्झौता हस्ताक्षर पश्चात् कार्यक्रममा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले नगरपालिकालाई विकासीत गर्न आफुहरू निरन्तर लागि रहेको बताइन् । नगरको समग्र विकासमा जनप्रतिनिधि र कर्मचारी एक भएर अगाडि बढिरहेको बताइन् । 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सडक बिस्तार, कालोपत्रे लगायत समग्र नगरको विकासमा जनप्रतिनिधिसंगै आफुहरू पनि गम्भीर भएर लागिपरेको बताए ।

मेचीनगरका बरिस्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको निर्माण सम्झौता कार्यक्रममा निर्माण कम्पनिका प्रतिनिधि, मेचीनगर संचार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, अग्रज पत्रकार मोहन काजीलगायका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।