चारआली । मनसुनको सुरुवातसँगै विपद तथा जोखिम पूर्वतयारीका लागि मंगलबार झापाको चारआलीमा विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
चारआलीस्थित नेपाली सेनाको अरिदमन गणको संयोजनमा मेचीनगर–१३ र १४ मा पर्ने हात्तेमालो सामुदायिक वनको निचाझोडा सिमसार क्षेत्रमा विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको हो।
पूर्वतयारी र विपदको समयमा गर्नुपर्ने समन्वयात्मक कार्यमा सहज होस् विपद व्यवस्थापन सम्बन्धी बृहत प्रयोगात्मक गरिएको हो ।
एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत विपद व्यवस्थापन सम्बन्धी बृहत डेमोस्ट्रेसन गरिएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बांस्तोलाले बताए ।
जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्य रहेको थियो ।
विपद् पश्चातको खोज उद्धार र पुनर्स्थापनामा आधारित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति र जनसमुदालाई विपद सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको गणका प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।
अभ्यासअन्तरगत विपद् पश्चात खोजी तथा उद्धार सम्बन्धी तीनवटा प्रदर्शन र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले घाइतेहरुको उपचार र राहत वितरण सम्बन्धी प्रदर्शन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी एवम विपद व्यवस्थापन समिति झापाका अध्यक्ष बन्धुप्रसाद बाँस्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नम्बर २१ बाहिनीका बाहिनीपति सहायक रथी युवधीरमान सिंह अधिकारी, अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, राष्ट्रिय अनुसन्धानका कुलचन्द्र नेपाल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल मेचीनगर-१३ का वडाध्यक्ष तथा त्यस्तै निचाझोडा सिमसारको परिकल्पनाकार तथा संस्थापक अध्यक्ष कृष्णराज सिग्देल, हात्तेमालो सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद सिग्देललगायतको उपस्थिति थियो ।
यसैबीच, अभ्यास कार्यक्रमपश्चात गणले बृक्षारोपणसमेत गरेको छ । कार्यक्रममा धुपीलगायत फलफूलका विरुवा रोपिएको छ ।






















































