चारआली । झापा मेचीनगर-१२ मेची राजमार्गस्थित धाइजन चोकमा भएको सडक दुर्घटना परी दुईजनाको मृत्यु भएको छ ।

मेची राजमार्गमा धाइजन चोकस्थित बुधबारेतर्फ जाँदै गरेको मे. ७ प. ७२८३ नम्बरको स्कुटरले हाइवेको बायाँ किनारमा बिग्रिएर रोकिराखेको को. १ च ७२६४ नम्बरको बोलेरो पिकअपमा ठोकिएर दुर्घटना भएको थियो ।

मृत्यु हुनेहरुमा स्कुटर चालक झापा बुद्धशान्ति–५ का अन्दाजी २५ वर्षीय लीलाप्रसाद ढुंगेल र सोही स्कुटरमा पछाडि बसेका इलाम रोङ–५ बहुवनका अन्दाजी २९ वर्षीय चेतन रिजाल रहेका छन् ।

दुर्घटनामा घाइते भएका दुवैलाई बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनसाथ राति ११ बजे चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेका थिए ।

स्कुटर र बोलेरो पिकअप गाडी प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको र बोलेरो पिकअप चालक सम्पर्कमा नभएको हुँदा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।