झापा । कोशी प्रदेश सरकारले गतवर्ष भन्दा एक अर्ब कम गरेर आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोडको बजेट बैठकमा प्रस्तुत गरेका हुन् । चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ करोडको बजेट ल्याएको थियो ।

प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ ।

बजेटको स्रोततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ करोड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो ।

आगामी आर्थिक वर्षको बजेटमार्फत कोशी सरकारले कृषि उत्पादकत्व वृद्धि गर्ने, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणलाई प्राथमिकतामा राखेको छ ।

कोशी सरकारले खोरेत रोग निर्मुल गर्ने घोषणा गरेको छ । सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्न संघीय सरकारसँग समन्वय गरेर काम गर्ने पनि मन्त्री मगरले घोषणा गरेका छन् ।

बहुबर्षीय तथा नयाँ भौतिक पूर्वाधार विकासका लागि सरकारले १० अर्ब ५१ बजेट विनियोजन गरेको छ । भूमिगत सिँचाइका लागि सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

विद्युतीय चार्जिङ स्टेसनका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले एक घर, एक धाराको योजना पनिअघि सारेको छ । जसका लागि एक अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य क्षेत्रमा सरकारले ३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले सामाजिक क्षेत्रको विकासका लागि १ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशका सबै अस्पतालबाट विशेषज्ञ सेवा दिन ६ करोड रुपैयाँ विनियोजन भएको छ । बालबालिकाको उपचारका लागि सरकारले प्रदेश मातहतका अस्पतालमा मात्रै सेवा प्रवाह गर्ने घोषणा गरेको छ ।