मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरपालिकाको सबै क्षेत्रमा कलम चलाएर समाज रुपान्तरणको पहल गर्ने संचारकर्मीलाई आग्रह गरेका छन् ।
समाज रुपान्तरण जनताको अपेक्षा भएको उल्लेख गर्दै उक्त अपेक्षा पूरा गर्न सञ्चार क्षेत्रकाे महत्त्वपूर्ण भूमिका आवश्यक भएको बताएका हुन् ।
मेचीनगर सञ्चार प्रतिष्ठानले सञ्चालन गरेको दुईदिने विकास पत्रकारिता तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बुढाथोकीले जनतालाई सुसूचित गर्न पत्रकार र सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका हुन् ।
सूचनाको हक जनतासँग भएको भन्दै बुढाथोकीले भने-‘जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा गतिविधिलाई सञ्चारमा ल्याएर उनिहरुलाई जिम्मेवार बनाउन आग्रह गरेका थिए ।´
स्थानीय सरकार, जनप्रतिनिधि र सञ्चारकर्मीलाई जनताले सधैं हेरिरहेका हुन्छन् । त्यसैले राम्रा–नराम्रा कामहरुको खोजी गरिदिन र सुझाव दिन मेयर बुढाथोकीको आग्रह थियो ।
कार्यक्रममा मेयर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशिक्षक ज्ञानेन्द्र निरौला, पत्रकार अम्बिका भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा तालिममा सहभागीका तर्फबाट प्रविण अधिकारी, मनिषा गौतम, नेहाल दर्जी र प्रिया तामाङले आफुहरुले सिकेको सिपलाई व्यवहारमा उतार्ने बताएका छन् ।
तालिममा मेचीनगरका ३० जना भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । आज समापनका दिन तालिममा सहभागीहरुलाई अग्रज पत्रकार जीएन शर्माले प्रशिक्षण दिएका थिए ।
मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए ।
























































