मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक बर्षमा  पाँच सय १६ वटा योजनाको काम सम्पन्न गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा रहेको मेचीनगरको टिमले आर्थिक बर्ष २०८०/८१ को बिनियोजित बजेटबाट ५ लाखदेखि करोडबढी लागत भएको पूर्वाधारका उक्त योजनाहरू सम्पन्न गरेको हो । 

नगरपालिकाले स्थानीय, प्रदेश र संघबाट समेत विभिन्न शिर्षकमा मेचीनगर भित्र बिनियोजित रकमबाट ५१६ वटा योजना सञ्चालन गरेको थियो । त्यस्तै अन्य १० वटा योजना समयमा सम्झौता हुन नसक्दा नयाँ आर्थिक बर्षमा सञ्चालन गरिने मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमालले जानकारी दिए ।

उनले जनताको सेवामा सधैं तत्पर रहँदै लागि परिरहेको बताउँदै एक बर्षमा आवश्यकताकन आधारमा जनअपेक्षा अनुरूप कार्य गरिएको बताए । 

मेचीनगर सधैं जनता प्रति उत्तरदायि रहेको बताउँदै नयाँ आर्थिक बर्षमा थप जनमुखी कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीका अनुसार मेचीनगरको गतवर्ष १ अर्व ३३ करोड थियो भने चालुआर्थिक वर्ष १ अर्व ३६ करोड छ । खर्च ८०.४५ प्रतिशत, पुँजीगत खर्च ७३.०४ प्रतिशत, चालु खर्च ८४.०४ प्रतिशत रहेको छ । 

त्यसैगरी महिला तथा बालबालिका क्षेत्रमा १६ वटा योजनामा १३ वटा काम सम्पन्न हुँदा सामाजिक योजनामा ४० मध्ये ३७ वटा काम भएको छ । जुन ९२.५ प्रतिशत प्रगति हो ।

अब नगरमा टोल विकास संस्थाहरुको भुमिकाहरुलाई थप प्रभावकारी बनाउनुका साथै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिने छ । स्वास्थ्य तर्फ ९८.०३ प्रतिशत, शिक्षातर्फ ९५.०५ प्रतिशत, कृषितर्फ १९ वटा योजनामा १२ वटा काम सम्पन्न भएको छ । जस्मा ६३.१५ प्रतिशत, ७६५ जनालाई अनुदान उपलब्ध, पशुविकासमा ८ वटा योजनामा ७ वटा काम सम्पन्न भएको छ । जस्मा ८७.०३ प्रतिशत काम भएको छ ।

अब सेवा प्रवाह लक्ष्य अनुसार आईटीलाई अटोमेसन गरेर पेपरलेस सर्भिस दिने र डिजिटल प्रोफाइल बनाउने योजना तथा नागरिक वडा पत्र डिजिटल, कृषक सूचीकरण, परिचय पत्र बाढ्ने, सामुदायिक विद्यालयमा फोकस गरिनुका साथै प्रधानाध्यापकहरुको मुल्याङ्कन गरिने तयारी गरिरहेकाे उनले जनाए ।