झापा । झापाको दक्षिणी गाउँपालिका कचनकवल-७ बालुबाडीस्थित दीपज्योति सामुदायिक वन उपभोक्ता समूहले आर्थिक हिनामिना भएको पाइएको छ। दीपज्योति सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण राई र सचिव खगेन्द्र मोक्तानले काठ हिनामिना गरेको पाइएको हो।
दीपज्योति सामुदायिक वन समुहले २०७४ सालमा स्थानीय पाथिभरा सामुदायिक वनबाट बिल ल्याई दीपज्योती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव मिलेर दीपज्योतिको पदाधिकारी रहेको बेला पाथीभराकै बिलमा हस्ताक्षर गरी दिपज्योतीबाट ४६.२८ क्युबिट बराबरको काठ दीपज्योति सामुदायिक वनका उपभोक्ताहरूलाई बिक्री गरेको र त्यसबाट प्राप्त रकममा हिनामिना गरेको खुलासा भएको हो। उपभोक्ताहरूका अनुसार यस्ता खालका बिलहरू अरु पनि थुप्रै रहेको श्रोतले बताएको छ।

तत्कालीन समितिले विभिन्न पदाधिकारीहरूको किर्ते हस्ताक्षरसमेत गरेर उपभोक्ताहरूलाई ठगेको आरोप पनि लागेको छ । उपभोक्ताहरूले यस्तो  हिनामिना गर्ने व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।
उपभोक्ताहरूको भनाइ अनुसार यस्ता खाले आर्थिक अनियमितता र किर्ते हस्ताक्षरका घटना अरू पनि भएका हुनसक्ने आशङ्का गरिएको छ। सम्बन्धित निकायलाई छानबिन गरी दोषीलाई कारबाही गर्न उपभोक्ताहरूले आग्रह गरेका छन्।
समुहमा यसअघि पनि विभिन्न समितिले काठको रकम हिनामिना गर्दै आएपनी नियामक निकाय कडाई नगरेको गुनासो आउने गरेको छ ।