झापा । देशभर मनसुनी वायुको प्रभाव भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

देशभर आंशिकदेखि साधारणतया बदली रहीँ बागमती, गण्डकी र कर्णाली  प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा  बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका राति पनि एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।