सल्यान । सल्यानमा घरको छानाबाट खसेर एक जनाको मृत्यु भएको छ । मर्मत गर्ने क्रममा छानोबाट खसेर जिल्लाको बाग्चौर नगरपालिका-१० मोख्लाका खुमराज गिरीको बिहीबार दिउँसो मृत्यु भएको हो । 

बाग्चौर नगरपालिका-१० भाटभिटेका तुलसीराम बुढाथोकीको घरको छानो मर्मत गर्ने क्रममा खसेर घाइते भएका थिए । गिरीको श्रीनगरस्थित कर्णाली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए ।

उनका अनुसार घरको छानाबाट खसेका गिरीको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

गिरीको शव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टमपछि आफन्तलाई बुझाएको उनले जानकारी गराए ।