झापा वातावरणमैत्री `शवदाह गृह´ सञ्चालन गर्न कनकाई नगरपालिकाले पहिलो चरणको कार्यक्रम संचालन गरेको छ । कनकाई नगरपालिकाको आयोजना तथा कनकाई घाट ब्यवस्थापन समितिको सह–आयोजनामा रहेको अन्तरक्रियामा पुर्वमै पहिलो वातावरणमैत्री शवदाह गृह संचालनमा ल्याइने भएको हो ।
कार्यक्रममा भारतको दिल्लीस्थित पर्यावरण एव वन सुरक्षा समिति तथा रोटरी क्लव अफ गाजियाबादका अन्सुल गर्ग र रोटरी क्लब अफ दिल्लीबार काठमाडौंका उपाध्यक्ष युवराज रोक्काले सहजीकरण गरेका थिए । 
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कनकाई घाट ब्यवस्थापनका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ छुट्याएको र सवैले सहयोग गरेर बातावरणमैत्री शवदाह गृह बनाउनु पर्नेमा जोड दिएका थिए । 
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा सामाजिक ब्यक्तीत्व  सुरेश अग्रवाल, नन्दकिशोर दत्त, बिजेन्द्र अग्रवाललगायतले  वातावरणमैत्री शवदाह गृह सञ्चालन सम्बन्धी जिज्ञासा राखेका थिए । 

कार्यक्रममा नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुसहित जनप्रतिनिधि, नगरका सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, रोटरी क्लब अफ सुरुङ्गा, मारवाडी सेवा समाज, कनकाई छठ सेवा समिति, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा, नेपाल भारतमैत्री संघ, सुरुङ्गा जेसीज, लायन्स क्लव अफ सुरुङ्गा र दुर्गापुरलगायत बिभिन्न्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कनकाई घाट ब्यवस्थापन समितिका अध्यक्ष बेदप्रकाश अग्रवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य गोपाल खरेलले गरेका थिए ।