सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिका-५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो । यस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनले मानवीय क्षतिको विवरण नआएको बताइन् । यसैबीच जल तथा मौसम विज्ञान विभागले पनि दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यहाँस्थित पालिकाहरुले पनि सूचना जारी गर्दै नदी किनारका वस्ती जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको छ भने जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताइन् । आज दिउँसो २ बजे बाढी आएको थियो ।
गृह मन्त्रालयले सोलुखुम्बुको थामेमा आएको भीषण बाढी र त्यसबाट थामेखोला तथा दुधकोशी नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र व्यवस्थापनमा खटाउन निर्देशन दिएको हो । बाढी आएको स्थान खुम्बु पासाङल्यामु गाउँपालिका–५ थामेमा पर्छ । त्यसबाट आएको बाढी अहिले थामे खोला हुँदै दुधकोशी नदीमा मिसिएको छ ।























































