झापा । नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलाले झापाको कनकाइ पुल, तेह्रथुमको लुम्बुघाट पुल निर्माण  र मध्यपहाडी राजमार्गको ३७ किलोमिटर सडक कालोपत्रेका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएकी छन्।  

ती विकासका योजना वर्षौंदेखि अलपत्र परेकाे र निर्माणमा अगुवाई गरिदिन तेह्रथुम सराेकार समाज विराटनगरले आग्रह गरेपछि मुख्यसचिव गड्तौलाले प्रधानमन्त्री केपी शर्मा ओली, विभागीय मन्त्री र सचिवहरुसँग समन्वय गरेर काम अघि बढाउन पहल गर्ने आश्वासन दिएकी हुन् । Messenger_creation_4664da16-e767-41d4-b42e-f402d23b1c89 1हुलाकी राजमार्ग अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिकाको चौरी र झापा गाउँपालिकाको सडकबाडी जोड्ने कनकामाइको पुल निर्माण सुरु भएको दशक बितिसक्दा पनि अलपत्र छ । तेह्रथुम सदरमुकाम म्याङ्लुङ र पाँचथरलाई जोड्ने तमोर नदीको लुम्बुघाटको लुम्बुपुलको अवस्था पनि समान छ। 

तेह्रथुमकाे विकासको मेरुदण्ड मानिएको लुम्बुघाटकाे पुल निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि बन्न सकेको छैन । मध्यपहाडी राजमार्गको तेह्रथुम सडकखण्डमा कालोपत्रे भएको छैन । तेह्रथुम निवासी गड्तौला मुख्यसचिव बनेसँगै समाजले ती काममा अग्रसरता लिइदिन अनुरोध गरेको महासचिव उत्तमबहादुर चौलागाईंले बताए। 

मुख्यसचिव गड्तौलाले आफू काठमाडौँ पुग्नसाथ भाैतिक पूर्वाधार तथा यातायात  मन्त्रालयका सचिव केशव सिंहसँग तत्काल वार्तागरी ती विकास निर्माणलाई प्राथमिकता राख्न आग्रह गर्ने  वचन दिएको समाजका महासचिव चौलागाईंको भनाइ छ। 

मुलुकको प्रशासनिक क्षेत्रको उच्च ओहोदामा पुग्ने गड्तौलालाई तेह्रथुमको गौरवका रूपमा समाजले सम्मान गरेको छ । समाजले दोस्रो वार्षिकोत्सवको अवसर पारेर गड्तौलालाई सम्मान गरेको हो ।   मुख्यसचिव गड्तौला कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा रहेकी थिईन् । 

समाजले मुख्यसचिव गड्तौलामार्फत प्रधानमन्त्री ओलीलाई सम्मानपत्र पठाएको छ । तेह्रथुममा जन्मेर चौथोपटक मुलुकको प्रधानमन्त्री बन्न सफल भएकोमा ओलीलाई समाजले संस्थागत रूपमा शुभकामनासहित सम्मान गरेको हो । 

समाजले प्रधानमन्त्री ओलीसमक्ष तीन घण्टामा  विराटनगर -तेह्रथुम आवतजावत गर्न सकिने सिधा सडकमार्ग निर्माण सम्पन्न गर्न अनुरोध गरेको छ। 

कार्यक्रममा समाजका कार्यवाहाक अध्यक्ष दिपबहादुर खापुङ, डम्वरबहादुर कार्की ,भीम गुरागाईं, महेन्द्र  ढुङ्गाना, यज्ञेश्वर निराैला,सुरेसमान श्रेष्ठ,  ताेया दाहाल लगायतले बोलेको थिए । Messenger_creation_3456a850-56af-43d5-8de9-c1f073deb0dbकार्यक्रम सम्पन्न गर्न  जगन्नाथ अधिकारी, पदम सुवेदी, लीला ढुङ्गेलले  विशेष भूमिका निर्वाह गरेको महासचिव चौलागाईंले जानकारी दिए । 

समाजको वार्षिकोत्सवमा मोरङका प्रमुख जिल्ला अधिकारि प्रेमप्रसाद भट्टराई , राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझा, कोशी प्रदेश आन्तरिकमामला मन्त्रालयका उपसचिवद्वय विश्वनाथ बेस्रा र मन्जु खड्का,  सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, प्राडा. केशव  गड्ताैला, डा. धर्म ढकाल सहभागी थिए ।

कार्यक्रममा प्रजिअ भट्टराईले सुनसरी भाण्टाबारीकाे वेलीवृज जस्ताकाेतस्तै सार्न सके लुम्बुघाटकाे समस्या समाधान हुने सुझाव राखेका थिए । तेह्रथुमबाट विराटनगर बसाइँ सरेका , विभिन्न पेसा,  व्यवसाय र रोजगारीमा सम्लग्न व्यक्ति सरोकार समाज मार्फत संगठित र सक्रिय छन् ।