बिर्तामोड । उपचारका लागि अस्पताल लगिएका फरार थुनुवा शनिबार बिर्तामोडबाट  पक्राउ परेका छन् । चार दिनअघि हातकडी फुस्काई फरार भएका थुनुवा बिशाल राईलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले पक्राउ गरेको हो । उनी इप्रका बिर्तामोडका थुनुवा थिए ।

अर्जुनधारा-११ स्थित नयाँ बसपार्कमा रहेको घिसिङ मोटरसाइकल ग्यारेज छेउको चिया पसलको भित्रपट्टी चुरोट खाएर बसिरहेको अबस्थामा उनलाई बिहान ११ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी प्रकाश बिष्टले बताए । 

गत मंगलवार दिउँसो उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका थुनुवा २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका थिए । दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक–३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने राई हातकडी फुस्काई फरार भएका थिए ।

उनी फरारसँगै खोजी कार्य तीब्र पारिएको थियो । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली चार दिनदेखि खटिएको थियो । उनी लागूऔषधसहित पक्राउ परेका थिए । फरार थुनुवा राईलाई इप्रका बिर्तामोडमा राखिएको छ ।