झापा । झापाको बिर्तामोडमा बित्तीय कारोबार सञ्चालन गर्दै आएको नेपाल सहकारी वित्तीय संस्थाले सयौं बचतकर्ताकाे लाखौं रकम फिर्ता नदिई कार्यालय बन्द गरेको छ । बचत रकम फिर्ता नदिई बन्द गरेपछी ८ सय सदस्यहरु अन्योलमा परेका छन् ।
काठमाण्डौंमा मुख्य कार्यालय भई बिर्तामोडको भद्रपुर रोडमा शाखा कार्यालय सञ्चालन गर्दै आएको सहकारीले साउन १६ गतेदेखि बचत संकलन गर्न बन्द गरेको हो । सो सहकारी संस्थालाई साउन १० गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो । काठमाण्डौको बानेश्वरमा मुख्य कार्यालय रहेको सो सहकारी सहकारीको ऐन, नियम, मुल्य, मान्यता विपरीत बचतकर्ताको रकम फिर्ता नगरेपछि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो ।
समस्याग्रस्त घोषणा भएको नेपाल सहकारी वित्तीय संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सोही ऐन बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको बताइएको छ ।
देशभर शाखा कार्यालय स्थापना गरेर कारोबार गरिरहेको सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा हजारौं बचतकर्ताहरुको बचत रकम जोखिममा परेको छ । सदस्यलाई सूचना नै नदिई सहकारी बन्द अन्योल उत्पन्न भएको बचतकर्ताको गुनासो छ ।























































