एजेन्सि । टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पाभेल डुरोफलाई फ्रान्सका प्रहरीले विमानस्थलबाट पक्राउ गरेका छन्।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार उनको निजी जेट लु-बुर्च्छे विमानस्थलमा अवतरण गरेलगत्तै डुरोफलाई नियन्त्रणमा लिइएको थियो।
अधिकारीहरूका अनुसार ३९ वर्षका उनलाई सन्देश आदानप्रदानका लागि प्रयोग हुने लोकप्रिय एपसँग सम्बन्धित कसुरमा पक्राउ गरिएको हो।
सञ्चारमाध्यमका अनुसार डुरोफलाई अपराधीहरूले टेलिग्राम प्रयोग गरेका सम्बन्धी अनुसन्धानमा नसघाएको आरोप लगाइएको छ।
फ्रान्सस्थित रुसी राजदूतावासले परिस्थिति प्रस्ट पार्नका लागि ‘तत्कालै कदम चालिरहेको’ रुसको तास समाचार संस्थाले जनाएको छ।
डुरोफ आफ्नो निजी जेटमा यात्रा गरिरहेको फ्रान्सेली टेलिभिजन च्यानल टीएफ वानले आफ्नो वेबसाइटमा जनाएको छ।
टेलिग्राम रुस, युक्रेन र पूर्व सोभियत सङ्घ देशहरूमा विशेष रूपमा लोकप्रिय रहेको छ।
रुस युक्रेनबीच जारी युद्धमा सूचनाको प्रमुख स्रोत रहेको यस एपलाई किभए र मस्को दुवैतर्फका अधिकारीहरूले व्यापक रूपमा प्रयोग गर्ने गर्छन्।
प्रयोगकर्ताको तथ्याङ्क दिन त्यसअघि अस्वीकार गरेका कारण सन् २०१८ मा उक्त एपमाथि रुसमा प्रतिबन्ध लगाइएको थियो।























































