काठमाडौं । अस्ट्रेलियाले कति सङ्ख्यामा नयाँ विदेशी विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिने भनेर सीमा निर्धारण गर्ने भएको छ।

अस्ट्रेलियाले कोभिड महामारीपूर्वको तहमा आप्रवासन घटाउने प्रयास गरिरहेको छ।

सर्वाधिक विदेशी विद्यार्थी स्वीकार गर्ने देशहरूको सूचीमा अस्ट्रेलिया माथितिरै पर्छ। तर आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने छ ।

उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार घोषणा गरेको छ ।

सरकारको घोषणाअनुसार व्यावसायिक प्रशिक्षण र तालिम दिने संस्थाहरूले विदेशी विद्यार्थी भर्ना गर्न पाउने सङ्ख्या सर्वाधिक घटाइएको छ।

यो परिवर्तनबाट उच्च शिक्षा प्रदान गर्ने उद्योगमा असन्तुष्टि उत्पन्न भएको छ। केही विश्वविद्यालयले यसलाई "शैक्षिक बर्बरता"को सङ्ज्ञा दिएका छन्। तर सरकारले यो निर्णयबाट शैक्षिक क्षेत्रको गुणस्तर र आयु बढ्ने तर्क गरेको छ।

यो वर्षको सुरुतिर सरकारले प्रकाशित गरेको तथ्याङ्कका अनुसार अस्ट्रेलियामा सात लाखभन्दा बढी विदेशी विद्यार्थी छन्।