प्रकाश उप्रेती
झापा । झापाको मेचीनगरमा रहेको पाँचतारे होटल मेची क्राउनले छोटो समयमै स्वदेश र अन्तर्राष्ट्रिय बजारमा राम्रो सेवा दिएर आफ्नो पहिचान बनाएको बताइएको छ ।
पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार आयोजित बार्षिकोउत्सव तथा नयाँ थप सुविधा सम्पन्न भवनको उद्घाटन कार्यक्रममा होटलका सञ्चालकहरुले नेपाल र भारतका विभिन्न ठाउँका बजारमा पहिचान दिएको बताएका हुन् । आफ्नो होटलको पहिचान र सेवा प्रभावकै कारण ग्राहकको आवश्यकलाई मध्यनजर गर्दै होटलले अर्को सुविधा सम्पन्न भवनबाट पनि थप सेवा विस्तार गरेको सो अवसरमा होटल मेची क्राउनका अध्यक्ष एवम् सञ्चालक पवित्रकुमार कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीले नेपाल र भारतका बिभिन्न ठाँउका ठुला घराना परिवारले सामाजिक कार्य सम्पन्न गर्न र मनोरञ्जन लिन होटल मेची क्राउण्डलाई रोज्ने गरेकोसमेत बताए ।
होटल निर्माण अघि नेपालबाट समेत विवाह, सेमिनार, मनोरञ्जनलगायतका सामाजिक कार्यका लागि भारतको होटलमा खर्च गर्ने रकमलाई मेची क्राउण्डले रोकेको उनको भनाई थियो । सुरुमा स्थापना गर्दा जोखिम मोलेर होटलमा लगानी गरेकोसमेत अध्यक्ष कार्कीले दाबी गरेका थिए ।
कार्यक्रममा सञ्चालक बलराम सापकोटाले होटलको चौतर्फी विकासका लागि सुरुमा जोखिम मोलेर लगानी गरेको भएर नेपालको काठमाडौदेखि भारतमा पनि मेची क्राउण्ड होटलले दिइने सेवाको माग बढेको उल्लेख गरे । उनले होटलको प्रतिफलसँगै नेपाल सरकारलाई बार्षिक ६ करोड २५ लाख रोयल्टी तिर्दै गरेको जानकारी गराएका थिए ।
उनले सबै सहभागी नेपाल सरकारका कानुन, पर्यटनमन्त्री, सम्बन्धित कार्यालयका सचीव र सरोकारवालाई बिदेशी र नेपालमा क्यासिनोले प्रदान गर्ने सुबिधा एउटै बनाउन कानुन संशोधन गर्न आग्रह गरेका थिए ।
साना र ठुला क्यासिनोको मापदण्ड हेरेर नियम बनाउनसमेत आग्रह गरेका थिए ।
उनले २१५ वटा सुविधा सम्पन्न रहेको कोठालाई आगामी दिनमा ५०० वटा कोठा पुर्याउने लक्ष्य रहेको उनले बताए ।
बार्षिकोउत्सवमा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले ४०/४५ वर्षअघि बनेका ऐन, कानून संशोधन गर्न नसक्दा पर्यटन क्षेत्रले फड्को मार्न नसकेको बताएका थिए । २०८१ क्यासिनो नियमावली बन्दै गरेको जानकारी दिदै क्यासिनो संचालन गर्दा आइपर्ने अनावश्यक झन्झटलाई नियमावलीमै सुधार गर्न लागेको उनको भनाई थियो ।
कार्यक्रममा पूर्वमन्त्रीहरु दिपक गिरी, प्रेम आले, किसानकुमार श्रेष्ठ, गोविन्द बद्री, सांसद एलपी साँवा, संविधान सभा सदस्य दिपक कार्की, नेपाल सरकारका कानून सचिव उदय सापकोटा, व्यवसायी विकास राना, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल लगायतले होटल मेची क्राउनको स्थापना र पर्यटन क्षेत्रमा देखिएको सम्भावनाको बारेमा चर्चा गरेका थिए ।























































