भद्रपुर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हत्यारा भन्ने चार जना राजावादीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्ब राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चन्द्रगढीस्थित विमानस्थलमा जम्काभेट हुँदा राजाबादी कार्यकर्ताले प्रचण्डलाई जथाभावी गाली गरेका थिए । उनिहरुलाई हिरासतमा राखिएको छ।

झापामा रहेका पूर्वराजा शाह काठमाडौं फर्कने क्रममा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित सभालाई सम्बोधन गरेर फर्कने क्रममा विमानस्थलमा भेट भएको हो ।

चन्द्रगढी विमानस्थलमा विमान रद्द भएर राति बास बस्नका लागि मेचीनगर-८ स्थित होटेल मेची क्राउनतर्फ जाने क्रममा राजावादीहरूले प्रचण्डलाई हत्यारा भनेका थिए । सो राजावादीको समूह पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिदाइ गर्न विमानस्थल आएको थियो । राजावादी समूहका तर्फबाट मेचीनगर -१० धुलाबारी बस्ने २७ वर्षीय सोना गेलाललगायतले प्रचण्डलाई जथाभाबी भनेको बताइएको छ ।

त्यसपश्चात् नेकपा माओवादी केन्द्रका कार्यकर्ता र राजावादीहरुबीच विवाद भएको थियो । प्रचण्डलाई हत्यारा भन्ने गेलालसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले बताइन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ भइरहेको उनले जानकारी दिइन् । हाल स्थिति सामान्य रहेको बताइएको छ ।