झापा । झापा कारागारका कैदी फरार भएको घटनालाई प्रहरी प्रशासनले छानबिन गर्न थालेको छ । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएपछि झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

भद्रपुर नगरपालिका-५ घर भएका २४ वर्षीय जीवन साह शनिबार बिहान प्रहरीलाई छक्क्याएर अस्पतालबाट फरार भएका थिए । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि गत भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो ।

छातीमा समस्या भएपछि साहलाई भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनलाई प्रादेशिक अस्पतालबाट ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । उनी सोही अस्पतालबाट प्रहरीलाई छक्क्याएर फरार भएका थिए । ओमसाई पाथीभरा अस्पतालमा उपचाररत साहलाई शनिवार बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकोमा शौचालयबाटै उनी फरार भएका हुन् । फरार भएका साह भद्रपुर-३ स्थित झोलुङ्गे पुल हुँदै मेचीपारि नाकाबाट भारततर्फ भागेको बताइएको छ । उनले श्रीमतीलाई समेतसँगै लिएर भारततर्फ लागेको बताइन्छ । भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचाररत उनी अस्पतालको दोस्रो तलाको दुई नम्बर क्याबिनमा बसेका थिए । उनी शौचालय जाने बहाना बनाएर अस्पतालबाट फरार भएको बताइएको छ ।

साहको सुरक्षाका लागि प्रहरी सहायक हवल्दार धनेश्वर यादव, प्रहरी जवानद्वय दिपेन मण्डल र सामकुमार राई खटिएका थिए । उनीहरूलाई साहकी श्रीमतीले मादक पदार्थ सेवन गराएको र प्रहरीलाई छक्क्याएर साह श्रीमतीसहित स्कुटर लिएर अस्पतालबाट फरार भएको अस्पतालको सिसी टिभी फुटेजमा देखिएको छ । साहको सुरक्षामा खटिएका तीनै जना प्रहरीलाई निलम्बनको प्रक्रिया अगाडि बढाइएको छ ।

उनी फरार भएसँगै सहायक प्रमुख जिल्ला अधिकारी नेपालसहित जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालय र जिल्ला कारागार झापाका प्रमुख सदस्य रहने गरी समिति गठन भएको प्रहरी उपरीक्षक मिलन केसीले बताए । यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए । फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्को यस्ता घटना घट्न थालेको छ ।