काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सडक विभाग कार्यालयले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् ।
प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन्भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए ।
“ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण सङ्कलन गर्न पनि सकिएको छैन । यो प्रारम्भिक विवरण मात्रै हो”, अर्यालले भने, “पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ । अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज र बिपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगाएको छ ।”
कुलेखानी जलविद्युत् आयोजनको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताए । बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ ।
अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिए । धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए ।
सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ । सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो ।
अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए ।
त्यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पनि पहिरो खसेको छ ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ ।
पुष्पलाल (मध्यपहाडि राजमार्ग) अन्तर्गत ओखलढुङ्गाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छभने भेडेटार–रबि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ ।
सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ ।
भेरी करिडोरअन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडकखण्डमा पश्चिम रुकुमको त्रिवेणी भन्ने स्थानमा सडकमा पहिरो खसेको छ । यो सडकखण्डअन्तर्गत जाजरकोट जिल्लाको नमूना बस्ती क्षेत्रमा पनि बाढी र पहिरोका कारण समस्या देखिएको विभागले जनाएको छ ।
मेची राजमार्गअन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम–गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला खण्डमा पाँचथरको फिदिम नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको छ । त्यस्तै माडर–चौराहवा–गोलबजार–सिरहा–साँघुरे–उदयपुर–मिचैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा सल्लेरी सडकखण्ड प्रभावित बनेको छ । मिर्चैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडकमा पनि सवारीसाधन सञ्चालन हुने सकेका छैनन् ।
सहिद मार्गअन्तर्गत कोइलाबास–लमही–अर्जुनखोला–घोराही–घर्तिगाउँ–थवाङ–लुकुम खण्ड, रोल्पाको घर्तीगाउँ र दुई खोली खण्डको गरगरे भन्ने ठाउँमा पहिरो गएको छ । यो राजमार्गमा रोल्पाको होलेरी र दारबोट खण्डमा पनि अवरोध सिर्जना भएको छ । अर्घाखाँचीको लौलिहवा–गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत नरपानी–खुम्ती–सन्धिखर्कमा पहिरो गएको सडक विभागले जनाएको छ ।
त्यसैगरी, पुष्पलाल राजमार्गअन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी, सिन्धुलीको रिठ्ठाबोट, फिक्कल, ट्याँउ खोला र कुखुरेटार, हर्जेनी, बलेनी, सालघारीलगायत क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ ।
तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्टानमा सडक पूर्ण रुपमा अवरुद्ध छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको छ ।
कान्ती राजपथअन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैँसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ । यो राजमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार खण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ । दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, किर्तीपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेका छ । गोदावरी नगरपालिका–६ को लेले टिकाभैरव जाने बाटोमा पहिरो खसेको छ ।
नदीमा पुल बगाएको र ठूलो पहिरो खसेको स्थानमा बाहेक अन्य स्थानहरुमा कम्तीमा दुई घण्टाभित्र अवरोध हटाउने गरी विभागको टोली परिचालन गरिएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए । सडक सञ्चालन गर्न शवभिन्न सडक डिभिजन तथा मातहतका कार्यालयका टोली तयारी अवस्थामा रहेका उनले बताए ।
“बाटो र पुल बगाएको स्थानमा बाहेक ठूलो पहिरो नभएका ठाउँमा बढीमा दुई घण्टाभित्रमा सडक खुलाउन सक्नेगरी तयारी अवस्थामा बसेका छौँ । निरन्तर पानी परिरहेको छ । अधिकांश स्थानमा लेदोसहितको बाढीपहिरो आउने जोखिम रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा केही समस्या भएको छ”, अर्यालले भने ।
उद्दारमा २० हजार प्रहरी परिचालन:
अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।
विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको छ ।
पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् । जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।
त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ भने राष्ट्रिय अनुसन्धान विभाग सुचना संकलनमा सक्रिय छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्दार गरिएको जानकारी दिएका छन् । यसअघि गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि परेको बताए थिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्बन्धीत निकायलाई निर्देशन समेत दिएका थिए ।























































