मेचीनगर । नजिकिएको चाड-पर्वलाई लक्षित गरेर मंगलबार झापाको पुर्वी नाका काँकडभिट्टामा यात्रु सहयाता कक्ष सञ्चालनमा ल्याइएको छ। नेपालीहरुको महान् पर्व बडादशैँ, दीपावली एवम् छठ लगायतका चाडपर्वमा यात्रुहरुलाई सहज र सुरक्षित बनाउन पुर्वी नाका काँकरभिट्टामा (हेल्प डेक्स) सञ्चालनमा ल्याएको हो ।
बुधबारे, विर्तामोड र दमकमा समेत नागरिक सहायता कक्ष राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। एक औपचारिक कार्यक्रमबीच झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले यात्रु सहायता कक्षको उद्घाटन गरेपछी सञ्चालनमा आएको हो । चाडपर्वको समयमा टाढाटाढाबाट आएर समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैलाई प्रारम्भिक जानकारीसहित सहजीकरण गर्ने उद्देश्यले हेल्प डेस्क राखिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसाय संस्थासमेतको समन्वय र सहकार्यमा यात्रु सहायता कक्ष मंगलबारबाट सञ्चालनमा ल्याइएको हो ।
यात्राको क्रममा कुनै प्रकारको असहज महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्न र सहयोग लिन समेत प्रहरीले अनुरोध गरेको छ ।
यात्रु सहायता कक्षको शुभारम्भ गर्दै झापाका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले यात्रुहरुलाई भाडादरमा ठगी हुनबाट बच्न यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। हरेक स्थानको भाडा दर र समय तालिका यात्रु सहायता कक्षमा अनिवार्य राख्न र नागरिकहरुलाई सहजीकरण गर्न समेत उनले निर्देशन दिएका छन्।
कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले दसैँ-तिहार र छठमा अभियानका साथ विशेष सुरक्षा योजना सुरु गरेको र यसमा सबैले समन्वय गरेर अगाडि बढ्न समेत आग्रह गरेका छन्।
साथै, चाडपर्वलाई लक्षित गरी जिल्लामा एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट पनि जिल्लाका विभिन्न स्थान तथा राजमार्गमा सुरक्षा गस्तीहरू बढाइएको बताइएको छ ।
यातायात व्यवस्था कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटाले सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्दा सवारी दुर्घटना न्यूनिकरण हुन सक्ने बताए । उनले ट्राफिक नियमको पुर्ण पालना चालकले मात्रै नभएर यात्रुहरुले समेत गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं-६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्व मेची बस व्यवसायी प्रालिका निवर्तमान अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजकुमार सुवेदी, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलल, डिल्लीराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले गरेका थिए ।
सोहि अवसरमा सडक सुरक्षा र अनुशासन कायम राख्दै कुशल सवारी चालकको जिम्मेवारीमा इमान्दारिता साथ सवारी चलाउने लामो तथा छोटो दुरीका युरो यातायात डिलक्सका चालक मेचीनगर-६ का गोपाल पौडेल र नागरिक यातायातका चालक मेचीनगर-१० का विष्णु सार्कीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।























































