झापा ।  झापाको चारआलीदेखि भारतको सिलिगुढीसम्म पेट्रोलियम पदार्थ ल्याउन पाइपलाइन निर्माण गर्ने सम्बन्धी बिहीबार सम्झौता भएको छ । नेपाल र भारतका आयल निगमका अधिकारीहरुले काठमाडौंमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थल कुमारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार भारतको सिलिगुढीदेखि काँकरभिट्टा हुँदै चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन निर्माण गरिने भएको छ ।

चारआलीमा १८ हजार ९०० केएल क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल निर्माण गरिने सम्झौतामा उल्लेख छ । झापाको चारआली र चितवनको लोथरसम्म निर्माण हुने पाइपलान परियोजनाको कूल लागत १५ अर्ब रहेको छ ।

बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा बिहीबार भएको हो ।

सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना समेत भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ ।

यसअघि यो परियोजनामा भारतले अनुदान लगानी गर्ने वा ऋण भन्ने टुंगो नलाग्दा लामो समयसम्म सम्झौता हुन सकेको थिएन् ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अघिल्लो वर्ष नेपाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनुदानमा यी पाइपलाइन बनाउने बारे छलफल भएको थियो ।

यसअघि नेपाल र भारतबीच अन्तर देशीय पहिलो पेट्रोलियम पाइपलाइन मोतिहारी–अमलेखगञ्ज भदौ २०७६ मा उद्घाटन भई सञ्चालनमा छ । यो पाइपलाइनको लम्बाइ ६९.१ किलोमिटर छ ।