भद्रपुर । भद्रपुर नाकाबाट ब्राउन सुगर भित्र्याउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका-२ का २५ वर्षीय विष्णु राजवंशी रहेका छन् ।
भद्रपुर नगरपालिका-३ मेचीपारी नाकास्थित झोलुङ्गे पुलमा खटिएका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरको टोलीले शुक्रबार दिउँसो २:५० मिनेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ११ प ९६४७ नम्बरको कालो पल्सर मोटरसाइकलमा सवार राजवंशीलाई शङ्का लागि चेकजाँच गरेका थिए ।
उनले मुखभित्र प्लास्टिकको पोका बनाएर ल्याउँदै गरेको २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सशस्त्रले बरामद गरेको थियो । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर सशस्त्रले नेपाल प्रहरीलाई बुझाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।























































