झापा । झापाको पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-५ मा भएको सवारी दुर्घटनामा परी मोटरसाइकलमा सवारको मृत्यु भएको छ ।
शनिबार यात्रु बाहक बसको ठक्करबाट मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका- ७ का ५५ वर्षीय पदम मुकारुम राईको घटनास्थलमै मृत्यु भएको छ ।
मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछी आक्रोशित भीडले बसमा तोडफोड र आगजनी गरेका थिए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा नामक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटना परी मोटरसाइकल चालकको घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । दुर्घटना पश्चात् आक्रोशित भीडले बसमाथि ढुङ्गा प्रहार गर्नुका साथै आगजनी गरेको डीएसपी चन्दको भनाइ छ ।
घटनालाई साम्य बनाउन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो । दुर्घटना कारण पूर्वपश्चिम राजमार्ग आधा अवरुद्ध बनेको थियो । प्रहरीले वैकल्पिक मार्गबाट सवारी साधन आगमनको व्यवस्था मिलाइएको थियो । बस चालक घेरादह नगरपालिका-१ का ३५ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।























































