दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ अर्बबढीको लागतमा नवनिर्मित १८ तले दमक भ्यूटावर (बिजनेस कम्प्लेक्स) को आइतबार उद्घाटन गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७६ साल असार २६ गते ठेक्का लागेको दमक भ्यूटावरको एक भव्य समारोहबीच उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री ओलीले दमक नगरपालिका-३ मा डेढ अर्बभन्दा बढी लागतमा सय मिटर अग्लो भ्यूटावरको उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ।
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार यो बिजनेस कम्प्लेक्स चार बिगाहा १६ कट्ठा क्षेत्रफलमा बनेको छ। यस कम्प्लेक्समा ९२६ वर्ग मिटरको भुईँ तल्लासहित १८ वटा तला रहेका छन्। यस परियोजनाको अन्तिम लागत रकम एक अर्ब ६३ करोड ५४ लाख रहेको छ।
महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।
२०८० माघ २० गते सम्पन्न गर्नुपर्ने परियोजनाको ठेक्का चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले लिएका थिए। ‘यो भ्यूटावर नभई आन्तरिक र बाह्य पर्यटकीय भित्राउने झापासहित कोशी प्रदेशकै एउटा ठूलो बिजनेस कम्प्लेक्स हो,’ सचिव सिग्देलले भने, ‘यस कम्प्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, कर्पोरेट लगायतका भवनहरू निर्माण गरिएको छ।’
कम्प्लेक्सबाहिर बगैँचासहित ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने उनको भनाइ छ।























































