बेलडाँगी । प्रधानमन्त्रीकेपी शर्मा ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको बताएका छन् । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी खानेपानी आयोजनाको सोमबार उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताए।
उनले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने उल्लेख गरे।
‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने गरेमा देश बन्दैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विभिन्न पार्टीका हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईँहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईँहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’
कुल रु ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा नं २,३ र ४ का ६ हजार पाँच सय २१ घरधुरीका २६ हजार सात सय ४३ जनसङ्ख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रथम महिला राधिका शाक्य, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलगायत उपस्थित थिए।























































