झापा । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का संघीय सांसद् विश्वप्रकाश शर्माले चौरासी सालमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिने बताए । नेपाली कांग्रेस झापा क्षेत्र नं. १ ले आइतबार गृहनगर मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा बोल्दै महामन्त्री शर्माले त्यस्तो बताएका हुन् ।
अन्य कुनैपनी पार्टीसँग सहकार्य नहुने भन्दै उनले भने,- “म यति चाहिँ ढुक्कले भन्न सक्छु कि चौरासीको चुनावमा नेपाली कांग्रेसका मतदाताले रुखबाहेक अरु चुनाव चिह्नमा भोट हाल्नु पर्दैन ।”
उनले आगामी चुनावमा समानुपातिक सिटतर्फ सांसद्को उम्मेद्वार बन्ने हो कि भन्ने विषयमा पनि स्पष्ट पारेका थिए । “मेची महाकाली खट्नुपर्ने भयो भने यहाँ (झापा क्षेत्र नं. १)मा अर्कै उम्मेद्वार हुनसक्छ,” उनले भने–“एउटै व्यक्ति पटकपटक झापा–१ मा खडा हुँदैन ।”
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोमा भट्टराई, झापा सभापति देउमान थेबे, पूर्व उपसभापति राम कट्टेल, पूर्वनगरप्रमुख विमल आचार्य र महासमिति सदस्य शोभा श्रेष्ठले मन्तब्य राखेका थिए ।
कांग्रेस मेचीनगर सभापति सुदय पनेरु (सुवेश), त्रिभुवन चौधरी, शरद शिवाकोटी, ध्रुव कनाल, देवेन्द्र गौतम, भूमी पौडेल, लालबहादुर धिमाल , सूर्यप्रकाश उप्रेती, गोविन्द लम्साल, प्रज्वल कार्की, वेदनिधी खनाल, चेतनाथ भट्टराई लगायतले कांग्रेस तल्लो तहमा नबिग्रेको बताउँदै माथिल्लो तहमा सुधार आवश्यक रहेको भन्दै सुझाव दिएका थिए ।
क्षेत्रीय सभापति इन्द्र बुढाथोकीको अध्यक्षतामा भएको भेलामा क्षेत्रीय उपसभापति सन्तोष न्यौपानेले स्वागत मन्तब्य राखेका थिए भने गुणराज भट्टराईले संचालन गरेका थिए ।























































