विराटनगर । विराटनगर महानगरपालिकाले बुधबारबाट विद्यालय तथा क्याम्पस नजिकै खुलेका चिया पसलमा अनुगमन सुरू गरेको छ । चिया पसलमा विद्यार्थीहरू प्रवेश गर्ने र हुक्का तथा चुरोटजन्य पदार्थको सेवन गर्ने गरेको गुनासोपछि महानगरले अनुगमन सुरु गरेको हो ।
विद्यार्थीलाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री गरे व्यवसायनै दर्ता खारेज गर्नेसम्मको निर्णय गरेको महानगरले जनाएको छ ।
विद्यालय कलेज छेउमा खुलेका चिया पसल, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्दै १८ बर्ष मुनिका बालबालिकालाई त्यस्ता पदार्थको सेवनबाट निरूत्साहित गर्न अनुगमन सुरू गरिएको जनाइएको छ ।
धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा विद्यालय क्याम्पसले पोशाकमै जाने र हुक्का र सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको गुनासो बढेपछि विराटनगर महानगरपालिकाले गत शुक्रबार सम्बन्धित व्यवसायीसहितको सहभागीतामा छलफल गरेको थियो । 
छलफलपछि पसल सञ्चालकहरूले विद्यालय पोशाक लगाएका र १८ वर्षमुनि बालबालिकालाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री नगर्ने सहमति गरेका थिए । त्यसको अनुगमनका लागि महानगर प्रहरीका प्रहरी निरीक्षक राजन पौडेलको संयोजकत्वमा गठित समितिले अनुगमन थालेको हो । 
हुक्का बार, चिया पसल र क्याफे अगाडि जथाभावी पार्किङ गरेका कारण आवतजावतमा समेत समस्या भएको भन्दै पार्किङलाई व्यवस्थित गर्न समेत अनुगमनका क्रममा आग्रह गरिएको हो । 
अनुगमनका क्रममा हुक्का बार, चिया पसल र क्याफेहरूमा कार्यरत कर्मचारीको परिचय अनिवार्य गर्न, धुम्रपान क्षेत्र तोक्न, १८ बर्षमुनि उमेरका जोसुकैलाई पनि हुक्का र खैनी चुरोट बिक्री नगर्न निर्देशन दिइएको महानगर प्रहरी प्रमुख पौडेलले बताए ।