बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा तथा माइन्यूट प्रमाणीकरण कार्यक्रममा बिहिवार सम्पन्न भएको छ ।
बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल साकोसले गत पुस १६ गतेदेखि सात स्थानमा एकाईगत साधारण सभा सम्पन्नपछि झापाको बिर्तामोडमा अन्तिम माईन्यूट प्रमाणीकरण सम्पन्न गरेको हो । 
साकोसको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०/८१ शेयर सदस्य ३७ हजार ९६७ जना रहेको संस्थाको शेयरपुँजी १८ करोड ४० लाख २९ हजार १०० रुपैयाँ रहेको छ । 
यसैगरी कोष हिसाव ७ करोड ७२ लाख ६५ हजार ११० रुपैयाँ ७० पैसा, बचत निक्षेप हिसाव १ अर्व ३५ करोड ९३ लाख २६ हजार ७१३ रुपैयाँ १४ पैसा, लगानीमा रहेको रकम एक अर्व ८९ करोड ९४ लाख ८४ हजार ७३७ रुपैयाँ ४६ पैसा रहेको छ । 
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालले केही सहकारीको कमजोरीलाई लिएर आम सहकारीलाई हेर्ने दृष्टिकोण एउटै बनाउनु गलत भएको बताए ।
उनले पछिल्लो समय सहकारी संस्थाले हल्लाको पछाडि लागेर सबै सहकारी संस्थाहरु फटाहा हुन् भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाएका थिए
जिल्ला बचत तथा ऋण सहकारी संस्था लिका उपाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईले सहकारी क्षेत्रसँग आबद्ध व्यक्तिहरुले मात्र सहकारीलाई बुझ्ने र विश्लेषण गर्न सक्ने बताए । उनले सदस्यहरूले सहकारीलाई नजिकबाट नियाल्नुपर्ने र ऋणीहरूले समयमा ऋण तिर्दा मात्र सहकारी अभियान सफल हुने बताए ।

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष भवानीप्रसाद (भानु) दङ्गालले सहकारीमा संस्कृतिको विकास हुन नसक्दा अभियान कमजोर भएको इन्कित गर्दै सरकार र सहकारी सदस्यहरुले सहकारीमा संस्कृतिको विकासमा ध्यान पुर्याउन आग्रह गरेका थिए ।
उनले देशमा ३९ हजार ८८६ सहकारीमध्ये ६ सय ६९ वटा र झापामा २८ वटा सहकारीमा संस्था समस्या आएको उल्लेख गर्दै  समस्यामा परेका गलत नजिरले सञ्चालन गरिएका सहकारी सञ्चालकलाई कार्वाही र राम्रो ढंगले सञ्चालन गर्नेलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सुत्केरी सुबिधा, नवराजशिशु सुबिधा, पोषण तथा न्यानो कपडा, जन्मदिनको उपहार, बैवाहिक बर्षगाँठ उपहार, बचतकर्ता मृत्यु राहत सुबिधा, अग्रीम बचत सुबिधा, आजीवन पेन्सन बचत सुबिधा उपलब्ध गराउँदै आएको  प्रतिवेदन प्रस्तुत गरेका थिए ।
झापा, इलाम र मोरङ गरेर तीन जिल्लाका २२ पालिकाका ३१ सेवा केन्द्रमार्फत संस्थाले सदस्यहरुलाई सेवा दिइँदै आएको छ । संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रम सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।