सुरुङा । धार्मिक र परम्परागत रुपमा मकर स्नान गर्ने आउने श्रदालुहरुको आगमनमा कमी आउँदा कन्काई धार्मिक मेलाको महत्व घट्दै गएको छ । एकतिर श्रदालुको आगमन घट्नु अर्कातिर श्रद्धाभक्ती र धार्मिक गतिविधिका लागि भन्दा खेल तमासमा बढी खेलाइनुले पनि कन्काई मेलाको महत्व घट्दै गएको हो ।
बिगत वर्षमा लाग्ने माईमेलामा श्रदालुको घुइँचो र भीड बढेको पाइन्थ्यो । तर, केही वर्षयता सो भीड पातलिँदै आएको छ । श्रदालु भक्तजनका लागि लगाइने मेलामा क्रमश बिकृती-बिसंगति मौलाएकाले श्रद्धाभक्तिका लागि आगमन हुनेको कमी आएको हो । श्रद्धाभक्तीका लागि भन्दा आम्दानी गर्न खेल तमासा र जुवा तथा जुवाजन्य खेल खेलाउने भएकाले पनि कन्काई मेलाको महत्व घट्दै आएको दर्शनार्थीको भनाई ।
मेलामा जुवा, तास, डाइस, सिक्सरलगायतका अवैध खेल खेलाइनुका साथै मदिरा र मदिराजन्य पर्दाथको बिक्रीले पनि महत्व घटेको हो । टाढाटाढाबाट मनोकांक्षा पुर्णताको कामनासहित आएका दर्शनार्थीहरु कन्काई नदीमा स्नान गरी स्वर्गवास बनेका आफ्ना पितृहरुको सम्झनामा पानी चडाउने अर्पण गर्दै आएका छन् । त्यस्ता दर्शनार्थीहरुका अगाडि जुवा, तास, डाइस, सिक्सरलगायतका अवैध खेल खेलाइनुका साथै मदिरा र मदिराजन्य सेवन तथा कारोबार हुनुले पनि महत्त्व घटेर आगमन पातलिएको हो ।
हाल सुरुङास्थित कन्काई नदी पूर्व कोटीहोम र पश्चिमपट्टी माइधारमा तीन दिन अघिदेखि लागेको माई मेलामा जुवा र जुवाजन्य खेल खेलाउने र मदिरा बिक्री सेवन गरिदै आएको छ । खुलेआम रुपमा जुवा खेलाउने र मदिरा बिक्री गरेको पाएपछि प्रहरीले गएराति जुवाको अखडामा छापा मारेको घटना सञ्चारमाध्यममा उल्लेख छ ।
सो क्षेत्रमा राति जुवा र जुवाजन्य खेलहरु बन्द गर्न गराउन मेला आयोजक समितिलाई प्रहरीले चेतावनीसमेत दिएको पाइन्छ ।
स्थानीय जनप्रतिनिधिले पनि कन्काई नदीको मेलाको महत्व र संरक्षण गर्नुपर्ने दायित्वको निर्वाह गरेको पाइदैन । मेलालाई आर्थिक उपार्जनसँग जोडिएपछी बिकृती-बिसंगति मौलाएको सर्वसाधारणको भनाई छ ।
कन्काई माईधाम कन्काई र शिवसताक्षी-१० माइधारमा पर्दछ । कोटीहोममा कन्काई धार्मिक माई मेला समितिले मेला लगाएको हो । शिवसतासीका वडाध्यक्ष हर्कबहादुर सिँगु हुन् । वडाकै अगुवाईमा वडा कार्यालयले मेला आयोजना गरेको हो । जनप्रतिनिधिले नै जुवा खेलाउन पाउनुपर्छ जस्ता तर्क राखेपछी जुवा र जुवाजन्य खेल बढेको पाइन्छ । आयोजकले पनि जुवाबिना मेला नलाग्ने र मेलामा आम्दानी पनि नहुने आयोजकको तर्क छ । त्यहाँका जुवाजन्य खेल बन्द गराइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
गत पुष २७ गते शनिवार उद्घाटन गरिएको मेला माघ ३ गतेसम्म लाग्नेछ । यस किसिमका विकृतिका कारण मकर स्नान गर्न आउने कनकाई माईवेनी मेलामा सांस्कृतिक र धार्मिक मेलाको महत्व घट्दै गएकोप्रती धार्मिक ब्यक्तित्वले चिन्ता व्यक्त गरेका छन् ।























































