काँकरभिट्टा । सशस्त्र युद्धको समयमा वीरगति प्राप्तभएका दुई जना सशस्त्र प्रहरी हवल्दारहरु दिलिपकुमार मेहता र प्रेमबहादुर खड्काको नाउँमा निर्मित शिलालेखको अनावरण भएको छ ।
मेचीनगर-६ काँकरभिट्टाको मेची पुल छेउमा निर्माण गरिएको शिलालेख बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी, प्रमुख प्रहरी नायव उपरीक्षक मिमबहादुर लामालगायतले संयुक्तरुपमा अनावरण गरेका हुन् ।
२४ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा मेचीनगरमा वीरगति प्राप्त गर्ने दुईजना अमर सशस्त्र प्रहरीको शिलालेख निर्माण गरिएको थियो।
मेहताले २०६२ साल चैत ३ गते बिहीवार र खडकाले २०६२ साल साउन ३१ काँकरभिट्टामा वीरगति प्राप्त गरेका थिए । जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न परिचालित रहँदा कर्तव्यपालनको सिलसिलामा निर्भिकताका साथ अदम्य साहस प्रदर्शन गर्ने वीरगति प्राप्त गर्ने अमर सशस्त्र प्रहरीको चिरशान्तिको कामनासहित शिलालेख निर्माण गरिएको सशस्त्र प्रहरी उपरीक्षक राईले जानकारी दिए । सो अवसरमा सहभागीहरुले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।























































