शिलिगुढी । भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ ४:४२ बजे ठूलो रेल दुर्घटनामा तीन जना नेपालीसहित ११ जनाको मृत्यु भएको जनाइएको छ। 

जलगाउँका एसपीले ११ जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ । मृत्यु हुनेमा तीन जना नेपाली नागरिक पनि रहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ। जसमा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नबीन भण्डारी रहेको समाचारमा भनिएको छ। समाचारअनुसार उनीहरूको ठेगाना भने खुल्न सकेको छैन। 

४० जना यात्रुहरू घाइते भएको बताइएको छ। जलगाउँको सरकारी अस्पतालमा १२ शव ल्याइएको छ। जसमध्ये ७ जनाको पहिचान भइसकेको छ। मृत्यु हुनेमा ९ जना पुरुष र ३ जना महिला रहेका छन्।

पचोरा स्टेशन नजिकै महेजी र पर्धाडे बीचको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो।

यसै क्रममा केही यात्रुले चेन तानेका थिए। जस कारण ट्रेन रोकियो र भयभीत भएका यात्रुहरूले बाहिर हामफालेका थिए। यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई कुल्चेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।