झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को सचिवका लागि झापाका टिकाराम धमला (रञ्जन) ले उम्मेदवारी दिएका छन् ।
आगामी निर्वाचनमा धमला (रञ्जन)ले खुल्ला सचिव पदमा आफ्नो दाबेदारीसहित उम्मेदवारी दिएका हुन् । अखिल क्रान्तिकारी झापाको निवर्तमान अध्यक्ष, प्रदेश सचिवालय सदस्य तथा केन्द्रीय सदस्यसमेत रहेका धमलाले आगामी केन्द्रीय नेतृत्वका लागि खुल्ला सचिव पदमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका हुन् ।
अखिल क्रान्तिकारीको केन्द्रीय समिति चयनका लागि माघ १२ गते शुक्रबार निर्वाचन हुँदैछ ।
शैक्षिक क्षेत्रमा रहेको विकृति, विसंगती र शैक्षिक दलालहरुको विरुद्धमा विगतदेखि नै शसक्त आवाज उठाउँदै आएका धमला खुल्ला सचिव पदका लागि आफु बलियो उम्मेदवार रहेको बताउँछन् । उनले प्रारम्भिक कमिटीदेखि नै शैक्षिक क्षेत्रमा गर्नुपर्ने सुधारको विषयलाई उठाउँदै आएका छन् ।
वर्तमान विकृत शैक्षिक क्षेत्रमा आमुल परिवर्तनका निमित्त आफ्नो उम्मेद्वारी भएको धमला बताउँछन् ।
विभिन्न सामाजिक संघसंस्थामा रहेर शैक्षिक क्षेत्रमा काम गरेको लामो अनुभव बोकेका धमला निशुल्क र गुणस्तरीय शिक्षाको वकालत गर्छन् । शिक्षा जस्तो संवेदनशिल क्षेत्रलाई व्यापारिक क्षेत्र बनाइएकोमा धमला चिन्तित छन् । ‘मानिसको सम्वृद्धिको आधारस्तम्भ नै शिक्षा हो,’ उनी भन्छन्, ‘यति गम्भीर क्षेत्रलाई राजनीतिक र व्यापारिक बनाइँदा यो विकृत बन्न पुगेको छ ।’
युवा पुस्ताको ठूलो जमात दैनिक जसो अध्ययनका लागि विदेशिने गरेका कारण मुलुकमा जनशक्ति अभाव हुनुका साथै ठूलो मात्रामा पैसासमेत खर्च भइरहेको वर्तमान विकराल परिस्थितीलाई रोक्नका लागि वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने गरि व्यवहारिक र व्यवसायीक शिक्षाका निमित्त नीति निर्माणका लागि समेत आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
उनी शिक्षासँगै अन्य विभिन्न सामाजिक कार्यमा समेत क्रियाशिल छन् । मुलुक परिवर्तनका निमित्त भएका विभिन्न राजनीतिक आन्दोलनका मोर्चाहरुमा समेत धमला अग्रपंत्तिमा देखिन्छन् ।
शिक्षालाई व्यवसायीक दृष्टिकोणबाट टाढा राख्नु पर्ने उनको धारणा छ ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ निवासी धमला हाल उर्लाबारी बहुमुखी क्याम्पसमा ग्रामिण विकास बिषय लिएर स्नातकोत्तर तहमा अध्ययनरत छन् । शैक्षिक क्षेत्रको विकृतिलाई नजिकबाट नियालेको बताउने धमलाले खुल्ला सचिव पदमा आफुलाई निर्वाचित गराउन सम्पूर्ण मतदाताहरुलाई अपिल गरेका छन् ।
३१२ सदस्यीय केन्द्रीय समितिका लागि ५ सय जनाले उम्मेदवारी दिएका छन् । १ नम्बर प्रदेशका लागि सुनसरीको धरानमा २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत शुक्रबार नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।























































