बिर्तामोड । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले जनयुद्धको जगमा भएको जनान्दोलनबाट मुलुकमा संघीयता, गणतन्त्र आएको भन्दै जनयुद्धलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।
जनयुद्ध दिवसमा झापाका विभिन्न ठाँउमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै माओवादी कार्यकर्ताले उक्त कुरा बताएका हुन् ।
उनिहरुले क्रान्तिकारी परिवर्तन प्राप्त गरेको जनयुद्ध र सहिदको योगदानको अवमूल्यन कोहि कसैले नगर्न आग्रह गरेका थिए ।
जनयुद्ध दिवस माओवादी केन्द्र बुद्धशान्ति, अर्जुनधारा र बिर्तामोड नगर समितिले संयुक्त रुपमा आयोजित दीप प्रज्वलनपछि बोल्दै कार्यकर्ताले मुलुकमा परिवर्तनको सम्बाहक नै जनयुद्ध भएको बताएका थिए ।
३०औं जनयुद्ध नेपालको नक्साभित्र हँसिया हतौडा चिन्ह निर्माण गरी दीप प्रज्वलन गरिएको थियो ।
माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्बाङको सभापतित्वमा भएको कोणसभामा बोल्ने अधिकांश वक्ताहरुले जनयुद्ध ऐतिहासिक भएको बताएका थिए ।
कार्यक्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अर्जुन पाण्डे, रिटर्नी सेन्टरका संस्थापक महासचिव भीम लकान्द्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा, लक्ष्मी न्यौपाने (सरु) लगायतले सम्बोधन गरेका थिए। कार्यक्रम नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीका सचिव गणेश कालिकोटेले सञ्चालन गरेका थिए ।
त्यसैगरी ३० औं जनयुद्ध दिवसको उपलक्ष्यमा नेकपा माओबादी केन्द्र मेचीनगरले साँझ धुलावारीमा दीप प्रज्ज्वलन गरेको छ।
पार्टीको झण्डा र ब्यानरसहित नेता तथा कार्यकर्ताहरु धुलावारी चोकमा पार्टीका कोशी प्रदेश कमिटी सदस्य प्रकाश भण्डारीले जनयुद्धपछी मुलुकमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था बदल्न भने अझै बाँकी रहेको उल्लेख गरे । कार्यक्रममा पार्टीका मेचीनगर अध्यक्ष कमरेड राजन चिमरियाले २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्धपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्रसहित आर्थिक सामाजिक रुपमा बिकास भएको उल्लेख गरेका थिए । कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष चिमरिया र कार्यक्रमको सञ्चालन उपसचिव कृष्ण कौशलले गरेका थिए ।























































