चारआली । डिभिजन वन कार्यालयले प्रगति सामुदायिक वनको जग्गा अतिक्रमण गरी चारआली क्षेत्रमा बनाइएका २४ वटा टहरा भत्काउने भएको छ ।

पूर्वपश्चिम राजमार्गको उत्तरपट्टी मेचीनगर-१२ स्थित प्रगति सामुदायिक वन अतिक्रमण गरी बनाइएका टहरा शनिबार भत्काइने भएको हो । डिभिजन वन कार्यालयले वनको जग्गा अतिक्रम गरी बनाएका टहरा पटक-पटक सूचित गरेको थियोे । कार्यालयले दिएको सूचनालाई बेवास्ता गरेपछि वन कार्यालयले भत्काइने निर्णय लिएको डिभिजन प्रमुख मेघराज राईले बताए ।

प्रगति सामुदायिक वनमा अतिक्रमण गरी २४ वटा घुम्ती र टहरा बनाइएको छ । वन क्षेत्रलाई अतिक्रमण गरी विभिन्न व्यक्तिहरूले त्यहाँ व्यापार व्यवसाय गर्दै आएका छन् । गत असारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले हटाउने निर्णय गर्दै पहिलो सूचना जारी गरेको थियो । त्यसपछि दोस्रो पटक एक महिने सूचना जारी भएको थियो । त्यस अवधिभित्र पनि नभत्काएपछि गत माघ २४ गते ७ दिने तेस्रो तथा अन्तिम पटक सूचना जारी गरिएको थियो ।

घर भत्काउनुअघि डिभिजन वन कार्यालयले केही दिनदेखि माइकिङ गरिरहेको डिभिजन प्रमुख राईले जानकारी दिए । ‘पटक पटकको आग्रहलाई बेवास्ता गरी अटेर गरेपछि वन क्षेत्र खाली गराउने निर्णय गरेका छौँ’ डिभिजन प्रमुख राईले भने,‘ भोलि नै त्यो ठाउँ खाली गराउँदै छौँ ।’

प्रगति सामुदायिक वनकै जग्गा अतिक्रमण गरी पाउँ पाथीभरा मन्दिर र किराँतहरूको धार्मिक स्थल बनाइएको छ । ती धार्मिक स्थलहरूको सम्बन्धमा कार्य योजना बनाएर अघि बड्ने बताए । उनका अनुसार स्थानीय क्षेत्रकाे धार्मिक तथा पर्यटकीय विकासका लागि आम्दानी वन उपभोक्ता समितिलाई दिनुपर्ने निर्णय गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए ।