काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृति मेला शुक्रबार शुरु भएको छ । नेपाल सरकारका शिक्षा तथा बिज्ञान प्रविधिमन्त्री बिध्या भट्टराईको प्रमुख आतिथ्यतामा भएको मेलाको पहिलो दिन विभिन्न रोजगार दाताहरुको स्टलमा आएर सयौं नगरवासीले रोजगारका लागि आवेदन दिएका छन् ।
नगरपालिकाभित्र संचालनमा रहेका विभिन्न व्यवसायिक संस्था तथा रोजगारदाताहरुले राखेको स्टलमा र अनलाइनमार्फत आवेदन दिएका बेरोजगार नगरवासीहरुलाई रोजगार दिने तयारी गरिएको छ भने भोलि फागुन ३ गते शनिबार पनि इच्छुक बेरोजगार नगरवासीले ९ बजेपछी नगर कार्यालय परिसरमा आएर आवेदन दिन सक्ने नगरपालिकाले जानकारी दिएको छ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको रोजगार मेलाको उद्घाटन समारोहमा शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले स्वागत मन्तव्यसहित मेलाको औचित्यमाथि प्रकाश पारेका थिए।
विगतका मेलाहरुमा परामर्श र रोजगार प्रवर्धनलाई जोड दिएको नगरपालिकाले यस पटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताहरुको स्टल मै आवेदन दिन सकिने व्यवस्था गरेको छ । जसमा पहिलो दिन सयौ बेरोजगार नगरवासीले आफुले चाहेको पदमा आवेदन दिएका छन्।
शिक्षा, सीप र उद्यमशीलता रोजगारी हाम्रो प्राथमिकता भन्ने नारासहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको यस नगरपालिकाले यसपालिको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको छ । पहिलोदेखि तेस्रो वृत्ति मेलासमेत रोजगारी एवंं युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको थियो । यस अवधिका तीन वटा रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाहरुको तथ्याङ्क सङकलन गरिएको थियो ।
तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरुले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलनसमेत गरिएको थियो । माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ ।
यसैगरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ। रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याईएको छ । शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सयौँको सङ्ख्यामा रोजगारदाता र बेरोजगार युवाहरुबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ । यसअघि सम्पन्न तीन वटै वृत्ति तथा रोजगार मेलामा विद्यार्थी, युवा र गृहणी महिलाहरुको आकर्षणको केन्द्र बनेको आम अनुभूति रहन गएको छ।
मेलामा व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको छ । मेलामा कुल ४२ वटा स्टल रहने र उक्त ४२ स्टलमध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सीप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवद्र्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरु रहने छन् । यस चौथो रोजगार तथा वृत्ति मेलामा २५ हजार भन्दा वढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ।























































