विराटनगर । कोशी प्रदेशसभामा चारजना सांसदको सहभागितामा ‘प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । पर्याप्त छलफल बिना नै गत माघ १३ गते पेश गरिएको उक्त विधेयक पारित भएको हो ।
सहभागी हुनेहरूमा एमालेकी सचेतक कमला दर्नाल, सांसद रामदेव यादव, छविलाल चुँडाल र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए। विपक्षी दलका कुनै पनि सांसदले छलफलमा भाग लिएनन्।
सभामुखसहित ९३ सदस्यीय प्रदेशसभामा कानुन निर्माण मुख्य जिम्मेवारी भए पनि दफावार छलफलका लागि कुनै पनि सांसद उपस्थित भएनन्। सभामुख अम्बरबहादुर विष्टले संशोधन प्रस्तावका लागि माघ १४ गतेदेखि ७२ घण्टाको समय दिएका थिए, तर सो समयमा कुनै प्रस्ताव दर्ता भएन।
फागुन १२ गतेको बैठकमा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले विधेयक दफावार छलफलका लागि प्रस्ताव राखे पनि कुनै सांसद सहभागी नभएको सभामुख विष्टले जानकारी दिए। त्यसपछि उनले विधेयक निर्णयार्थ पेश गरे, जसलाई सभाले पारित गर्यो। सांसदहरूको सहभागिता कम देखिनु कानुन निर्माण प्रक्रियामा बेवास्ता र असहभागिताको संकेत मानिएको छ।























































