बिर्तामोड । बिर्तामोड नगरपालिकामा अनियमितता, भ्रष्टाचार र विकृति बढेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोडले समाधान नखोजे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
राप्रपाका बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतम नेतृत्वको टोलीले नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई २८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । ज्ञापनपत्रमा नगरपालिकामा भइरहेको अनियमितता, कृषि बजारको विकृति, शिक्षा क्षेत्रमा देखिएको समस्या, जग्गा अतिक्रमणजस्ता विषयलाई उठाइएको छ ।
ज्ञापनपत्रमा बिर्तामोड नगरपालिकाभित्र विकास निर्माणका कार्ययोजनाहरु सम्पन्न भइराख्दा अनुगमन समितिले कागजीरुपमा मात्र अनुगमन गर्ने गरेको आरोप लगाउँदै अनुगमनलाई पारदर्शी र सहज बनाउन नियमित अनुगमन गर्ने व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै उपभोक्ता समिति निर्माण गर्दा एकदलीय प्रभावबाट नभई सर्वदलीय प्रभाव एवं टोल विकास संस्थाको उपस्थितिमा उपभोक्ता समिति निर्माण गरि विकास निर्माणमा सबैको अपनत्व रहने व्यवस्थाको थालनी गर्न माग गरिएको छ ।
बिर्तामोडको कृषि थोक बजारमा रहेको बेथितिलाई राप्रपाले प्रमुखताका साथ उठाएको छ । कृषिथोक बजार कृषकको बजार नभएर बिचौलियाहरुको बजार भएको वास्तविकतालाई उठान गरिएको हो । कृषिथोक बजारमा होलसेल व्यापारी र खुद्रा व्यापारीबीच असमझदारी बढ्न गई अप्रिय घटना घट्न सक्ने भन्दै कृषिथोक बजार व्यवस्थापन समिति कृषकहरुको बिरुद्धमा उभिएको आरोपसमेत लगाइएको छ ।
त्यस्तै कृषिथोक बजारभित्र दुई करोड अठार लाख रुपैयाँमा निर्माण भएको चिस्यान केन्द्रमा भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरिएको छ । सो संरचनाको हिसाब किताब कहाँबाट कसरी फरफारक भयो सम्बन्धित निकायमा अनुगमन गरी ÷गराई गलत भएको भए कारवाहीको प्रक्रिया अगाडी बढाउन आग्रह गरिएको छ ।
त्यस्तै कृषि बजार क्षेत्रभित्र निर्माण भएको सार्वजनिक शौचालयमा पनि भ्रष्टाचार भएको दावी गरिएको छ । शौचालयमा लागेको भनिएको ६५ लाख रुपैयाँ खर्च भए नभएको छानविन गर्न राप्रपाले माग गरेको हो । त्यस्तै कृषिथोक बजारभित्रका ८४ वटा सटर पसलहरु निर्देशिकाबिपरित नामसारी गरी आर्थिक अनियमितता भएको भन्दै सोको अनुगमन गरी कारवाही प्रक्रिया अगाडी बढाउन आग्रह गरिएको छ ।
बिर्तामोडको कृषिथोकनजिकै बुधबारे हटिया बजारमा केही वर्षअघि डोजर लगाएर सयौं साना व्यापारीहरुलाई बिस्थापित गराउने काम गरिएको थियो । तर हालसम्म उक्त जग्गामा कुनै किसिमको भौतिक संरचना निर्माण नगरिएपछि के प्रयोजनका लागि खाली गरिएको हो स्पष्ट पारिदिन राप्रपाले माग गरेको छ ।
बिर्तामोडमा रहेका सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणका बारेमा राप्रपाले ध्यानाकर्षण गराएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा रहेको भद्रपुर माविको जग्गामा अनाधिकृतरुपमा अतिक्रमण गरी बसोबास गर्ने गरेको पाइएको हो । सो विद्यालयको जग्गामा बिचौलियाहरुबाट आफूखुशी किनबेच गर्ने गराउने ,आयस्रोत नदेखाउने गरेको पाइएकोले उक्त विद्यालयको जग्गा नापजाँच गरि छुट्याई अतिक्रमण गर्ने भूमाफियालाई कारवाही गर्न माग गरिएको छ । त्यस्तै बिर्तामोड नगर क्षेत्रभित्र रहेका अन्य सरकारी जग्गाहरु भूमाफियाहरुबाट अतिक्रमण भएका छन् । विर्तामोड क्षेत्रभित्र रहेका यस्ता सरकारी जग्गाहरुको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको हुँदा तत्काल सरकारी जग्गा संरक्षण गर्न आग्रह गरिएको छ ।
बिर्तामोडका सहकारी संस्थाहरुबाट समेत धेरै निक्षेपकर्ताहरु पीडित भएका छन् । उनीहरुले आफूले जम्मा गरेको निक्षेप फिर्ता पाएका छैनन् । राप्रपाले त्यसतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
‘बिर्तामोड क्षेत्रभित्र रहेका सहकारी तथा वित्तीय संस्थाबाट थुप्रै बचतकर्ताहरु पीडित भएका छन् बचतकर्ताहरुको पैसा फिर्ता भएका छैन राजनीतिक संरक्षणबाट सहकारीहरूले सहजता पाइरहेको अनुभूति राप्रपाले गरेको छ यसतर्फ ध्यानदिन आग्रह गर्दछौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।























































