धाइजन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोपोन्मुख मेचे समुदायको संस्कृति, परम्परालाई जगेर्ना गर्दै उनीहरुको विकाससँगै देशको विकास निर्माणमा लगाउनुपर्ने बताएका छन् ।
मेचे समुदायको महान पर्व ‘बैशागु बथर’ मा मेचे समाज शिवियारी आफात केन्द्रीय समितिद्वारा मेचीनगर–११ मा आयोजित कार्यक्रममा सभामुख घिमिरेले उक्त कुरा बताएका हुन् । `मेचे समुदायलाई लोप हुन दिनु हुँदैन, उनीहरुको संस्कृति र संस्कारलाई जगेर्ना गर्नुपर्छ । हराएका समुदायलाई संरक्षण गर्नु पर्छ । विकास निर्माणमा लगाउनुपर्छ उनले भने ।´
कार्यक्रममा भारत आसाम राज्य विधान सभाका सभामुख विश्वजित दैमारी आउने कुरा थियो प्राविधिक कारणले आउन सकेनन् । तर, अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मेचीनगरकी उपप्रमुख उप्रेती, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, प्रधानमन्त्रीका स्वकीय सहसचिव रोश्नी मेचे, भारतका पूर्व प्रतिनिधि सभा सदस्य सांसुमा खुंगुर बासुमाथारी, महिला मेचे उत्थान संघकी अध्यक्ष नुमा मेचे, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा आसाम बोर्डर टोरेन्टोकी गायिक हिमा बसमति लगायतले आफ्नो समुदायको गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
मेचे समाज शिवियारी आफातका अध्यक्ष विरेन मेचेको अध्यक्षतासहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उपाध्यक्ष सीता श्रेष्ठ मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कालु मेचे र सचिव महेश मेचेले संयुक्त रुपमा गरेका थिए ।























































