बाह्रदशी । प्रतिबन्धित औषधी बिक्री गरिरहेको अवस्थामा झापाको बाह्रदशी गाउँपालिका-५ फूलबारीमा रहेको विक्रम विकास मेडिकलकी सञ्चालकलाई  प्रहरीले पक्राउ गरेको छ ।

फार्मेसी सञ्चालक ३९ वर्षीया वन्दना पोखरेललाई प्रतिबन्धित औषधी बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा  सो फार्मेसी कचनकवल-१ स्थित घेरावारि स्वास्थ्य चौकीका इन्चार्ज अहेव विक्रम राजवंशीले सञ्चालन गर्दै आएका छन् । पसलमा राजवंशीकी श्रीमती वन्दना पोखरेल बस्ने गरेकी थिइन् ।

हिजो साँझ ५ः३० बजे विक्रम विकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरू बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विजय चौहानको कमान्डमा प्रहरी टोली खटिएर खानतलासी गर्दा प्रतिबन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधीहरू एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३९८० ट्याब्लेट बरामद भएको डीएसपी खगेन्द्र खड्काले बताए । मेडिकल सञ्चालक वन्दना पोखरेललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

त्यस फार्मेसीले लामो समयदेखि प्रतिबन्धित औषधि बिक्री गर्दै आएको थियो । आफूहरूले सम्झाइबुझाई गर्दा समेत अहेब राजवंशीले अटेर गरेको एक स्थानीय जनप्रतिनिधिले बताए