मेचीनगर । खुल्ला सिमानाको फाइदा उठाउँदै पुर्बी नाकाबाट  लगभग करोडौंकाे लागुऔषध भित्रिँने र कारोबारको ट्रान्जिट पोइन्ट बन्दै आएको तथ्यांकले पुष्टी गरेको छ ।
समाजमा भयावह रुपमा बड्दै आएको लागुऔषध प्रयोगकर्ता र ओसारपसारमा रोकथाम तथा नियन्त्रणका क्षेत्रमा सरोकारवला र स्थानीय तहको प्रयास असफल बन्दै आएको छ ।
लागुऔषध प्रयोगकर्ता र ओसारपसारमा नियन्त्रणका लागि मेचीनगरले पटकपटक राज्यकोषको रकम बजेटमार्फत सचेततामा लगानी गर्दै आएपनी अपेक्षाकृत बन्न नसक्दा बजेट बालुवामा पानी खन्याँएसरह हुने गरेको छ । मेचीनगर र अन्य पालिकाले प्रत्येक वर्ष लाखौं बजेट सचेतनाका लागि भन्दै विभिन्न सामाजिक संस्थामार्फत छुट्याउने खर्चिने गरेको छ । एकातिर पालिकाले बजेट बिनियोज गरेर बन्द कोठामा कार्यक्रम हुँदैगर्छ सोहीबेला कारोबारीले लाखौं मूल्य पर्ने लागुऔषध भित्र्याउँदै गरेको अवस्थाबाट प्रहरीले तस्बिरसहितको रिपोर्ट पठाउछ ।
यो अवस्थालाई स्थानीय तहले बुझ्न खोज्ने होभने केही लागुऔषध ओसारपसारका क्षेत्रमा कृयाशिल संस्थालाई त्यसको र रोकथामका लागि भन्दै कार्यक्रम गर्न छुट्याइने बजेटलाई पुनर्मुल्याङ्कन गर्नु जरुरी देखिन्छ ।
नगरभित्र बसोबास गर्ने लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने  पहिचान गरेर उनिहरुको समस्या बुझ्ने र उनीहरुको मनोस्थितीअनुसार उपलब्धिमुलक स्वरोजगारका क्षेत्रमा बजेटलाई प्रयोग गर्नु उचित हुने अभिभावकहरुले सुझाव दिँदैआएका छन् ।
स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको पहलमा संघीय सरकारमार्फत नै भारत सरकारसँग खुल्ला सीमाको १० किलोमिटर आसपासका दुरिभित्र बेचबिखन र ओसारपसार गर्न निषेध नगरेसम्म रोकथाम हुननसक्ने बिज्ञहरुको सुझाव छ । तर, बिज्ञको सुझावलाई स्थानीय पालिका, प्रशासन र राज्यले पनि सुनुवाइ नगर्दा समाज लागुऔषधले भयावह बनेको छ ।
देशभर लागुऔषधको कारोबारमा दैनिक करोडौंको रकम बिदेशिइँदै आएको छ भने त्यसको नियन्त्रणका लागि भन्दै स्थानीय तह र संघीय सरकार बजेटमार्फत करोडौं रुपैयाँ खर्चिदै आएकाे छ । थोरै मेहनतबाट धेरै कमाउने होडमा युवायुवती र मानिसले स्वास्थ्य जोखिममा राखेर लागुऔषधको कारोबार गर्दै आएको पाइन्छ ।
यसैबीच मेचीनगर नगरपालिकाले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न शुक्रबार र शनिबार सरोकारवालाहरुसँग छलफल चलाएको छ ।
स्कुल र कलेज पढ्ने विद्यार्थी, यातायात व्यवसायी, मजदुर, कर्मचारी लगायत ठुला घरानाका धेरै युवाहरु लागूऔषधको सेवन गर्ने, कारोवार गर्ने र बिक्री वितरणमा लागेका छन् । यसैको रोकथामका लागि नगरपालिकाले आगामी ३ वर्षे रणनीतिक कार्य योजना निर्माणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, लागूऔषध व्युरो, महिला सञ्जाल, शिक्षक, लागूऔषध न्युनिकरण सम्बन्धी काम गर्ने संघ-संस्था, यातायात व्यवसायी लगायतसँग पहिलो चरणको कार्यशाला गरेको छ ।
सामुदायिक विकास मञ्च मेचीनगर-६ ले सहजीकरण गरेको कार्यशालामा करिव ४० जना सरोकारवालाहरुको सहभागिता रहेको थियो । सहभागीलाई रणनीतिक कार्य योजना निर्माणका विषयमा विषय विज्ञ लोकपृय खनालले सहजकर्ताको भूमिका निभाएका थिए ।
कार्यशालाका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न तीन वर्षे रणनीतिक कार्य योजना निर्माणका लागि यो कार्यक्रम आयोजना गरिएको बताए । नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख शम्भुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न दुईदिने कार्यशालाको सहजीकरण सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकाल, सदस्य गोविन्द न्यौपाने लगायतले गरेका थिए ।